काठमाडौं- गैर आवासीय नेपाली संघ अन्तर्गतको एनआरएन स्पोर्टस एकेडेमीका कार्यवाहक सदस्य–सचिव धर्मराज गिरीले एनआरएनए नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेल मध्ये १८ खेलमा सहभागी हुने बताएका छन्।
‘हामीले तयारी तीव्र पारेका छौं, अहिले खेलाडीहरुको विवरण संकलन गर्ने काम भइरहेको छ। राखेपले तोकेको मितिसम्म खेलाडी दर्ता गर्छौं’ उनले भने।
आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत इभेन्ट्समा मात्रै सहभागिता जनाएको एनआरएनएले यस पटक सामूहिक खेलमा पनि सहभागिता जनाउँदै छ। फुटबल, भलिबल र क्रिकेटका साथै बास्केटबलको पनि टिम आउने जनाइएको छ।
क्रिकेटको टिम इंग्ल्याण्ड (युके) बाट आउने छ। यसैगरी भलिबलको टिम अस्ट्रेलिया र युकेबाट ल्याउने तयारी गरिएको छ भने बास्केटबलको टिम अस्ट्रेलियाबाट आउने छ। यस्तै, फुटबलको टिम ल्याउने जिम्मा हिमालयन फुटबल क्लब मलेसियाका अध्यक्ष सन्तोष कार्कीलाई दिइएको र उनले अस्ट्रेलिया र मलेसियाबाट खेलाडी छनोट गराएर टिम बनाउने बताइएको छ।
एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले नवौं राष्ट्रिय खेलकुदका लागि आफू निकै उत्साहित रहेको बताएका छन्।
विदेशमा बसेका नेपालीहरुलाई नेपालसँग खेलकुदको माध्यमबाट जोड्न पाउँदा आफू उत्साहित रहेको र प्रतियोगितामा एनआरएनएको सक्रिय सहभागिता हुने भन्दै तयारीका लागि कुनै कसर बाँकी नराख्न निर्देशन पनि दिएका छन्।
खेलकुदका लागि एनआरएनएका तीन जना युवा उपाध्यक्षहरु हिमाल गुरुङ, राज रेग्मी र रोशन थापासहित संयोजकहरु अब्दुल बसिद र रविन्द्र खड्काले विभिन्न देशमा रहेका एनसीसीहरुसँग समन्वय गरिरहेको कार्यबहाक सदस्य–सचिव गिरीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।