काठमाडौं–आयोजक क्वेस्ट इन्टरनेसनल कलेजले पाँचौ नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार विजयी सुरुआत गरेको छ।
ग्वार्कोस्थित घरेलु कोर्टमा क्वेस्टले मल्पीलाई ४२–२६ ले पराजित गर्यो। क्वेस्टका ग्याल्साङ लामाले १६ अंक जोडे। ब्वाइजमै जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेजले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन्।
जेभियरले केएमसीलाई ६४–२७ ले हरायो। जेभियरको जितमा रवि पौडेलले २६ अंक योगदान गरे। प्रज्ज्वल महर्जनको १५ अंक सहयोगमा गोल्डेनगेटले शुभश्रीलाई ७७–१७ को फराकिलो अन्तरले पन्छायो।
गर्ल्सकाे राउन्ड रोविन लिगमा मल्पीले सायम (एसआईएएम) बाट वाकओभर पायो। प्रतियोगिताको स्व. नारायणप्रसाद श्रेष्ठकी धर्मपत्नी एवं क्वेस्टकी सञ्चालक अनिता श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरिन्।
प्रतियोगितामा पुरुषतर्फ ९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। राउन्ड रोविन लिगका आधारमा सञ्चालित महिलाको स्पर्धामा ५ टिम सहभागी छन्।
पुरुषको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार हात पार्नेछन्। महिलामा पहिलो हुनेले ३० हजार र दोश्रोले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। दुवैका ‘मोस्ट भ्यालुएबल प्लेयर’ लाई जनही ५ हजार नगदसहित गिफ्टह्याम्परबाट पुरस्कृत गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।