काठमाडौं–आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई छुट्याएको शेयर जारी गर्ने भएको छ। बुधबार काठमाडौंमा भएको कम्पनीको चौथो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो।
सञ्चालक समिति अध्यक्ष डा रामहरि अर्यालको सभापतित्वमा भएको सभामार्फत् कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तिय विवरण पनि पारित गरेको छ।
यस्तै, सभाले अन्य कुनै जीवन बिमा कम्पनी गाभ्न, गाभिन वा प्राप्ति गर्नेसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृति गरेको छ।
त्यसअवसरमा नयाँ सञ्चालक समितिसमेत गठन गरिएको थियो। सभामा बोल्दै डा अर्यालले बिमा व्यवसायमा पर्याप्त जनचेतना, दक्ष जनशक्ति तथा बिमा व्यवसायसम्बन्धी साक्षरताको अभाव रहेको भए पनि कम्पनीले यसलाई अवसरको रुपमा लिई बिमासम्बन्धी जानकारी, जनचेतना र बिमाको पहुँच न्युनभन्दा न्युन आय भएका जनमानसमा पुर्याउन प्रतिबद्ध रहेको बताए।
उनले आगामी दिनमा कम्पनीको सेवा अझ चुस्त बनाउन प्रविधिमा विशेष जोड दिइने प्रतिबद्धता पनि जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।