काठमाडौं– इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नगरकोटमा नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायलाई लक्षित गर्दै कम्पनीले सोमबारदेखि कार्यालय सञ्चालनमा ल्याएको हो ।
नगरकोटमा विस्तार हुँदै गएको होटल, रिसोर्ट तथा रेस्टुरेन्ट व्यवसायलाई भरपर्दो इन्टरनेट र डिजिटल कनेक्टिभिटीसम्बन्धी सेवा उपलब्ध गराउन कार्यालय सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
नयाँ कार्यालयले मुख्यतः इन्टरप्राइज बिक्री तथा व्यवसाय विकासमा केन्द्रित भएर काम गर्नेछ । यसमार्फत होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक प्रतिष्ठानका इन्टरनेट र कनेक्टिभिटीसम्बन्धी आवश्यकता पहिचान गरी उपयुक्त समाधानबारे जानकारी तथा सेवा समन्वय गरिने कम्पनीको भनाइ छ ।
पछिल्लो समय नगरकोट आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । पर्यटकको अनलाइन बुकिङ, डिजिटल भुक्तानी, सञ्चार तथा ग्राहक सेवाका लागि इन्टरनेट अनिवार्यजस्तै बन्दै गएको अवस्थामा डिजिटल पूर्वाधारको आवश्यकता पनि बढ्दै गएको छ ।
कम्पनीका अनुसार नयाँ कार्यालयले स्थानीय पर्यटन व्यवसायीसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्नुका साथै उनीहरूको आवश्यकताअनुसार सम्बन्धित प्राविधिक तथा व्यावसायिक टोलीसँग समन्वय गर्नेछ । यसबाट पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायलाई डिजिटल रूपमा थप सक्षम बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
वर्ल्डलिंकले नगरकोटमा कार्यालय विस्तारसँगै देशभरका व्यावसायिक ग्राहकसँगको सहकार्यलाई थप सुदृढ बनाउने प्रयासलाई निरन्तरता दिएको जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।