काठमाडौं– नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट भ्वाइस प्याक ल्याएको छ। कम शुल्कमा अन्य सेवा प्रदायकको नेटवर्कमा समेत कुराकानी गर्न सकिने गरी उक्त प्याक ल्याएको कम्पनीले जानकारी दिएको हो।
कम्पनीका अनुसार जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २६५ रुपैयाँमा र एक हजार २०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक ५५० रुपियाँमा प्रयोग गर्न सकिनेछ।
यसैगरी बिहान ५ देखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट डे भ्वाइस प्याक र राति १० देखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट नाइट प्याक जम्मा २५ रुपियाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
आवश्यकताअनुसार बिहान ५ देखि साँझ ५ बजेसम्म १२ रुपैयाँमा ३० मिनेट र १५ रुपैयाँमा १२० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट डे भ्वाइस प्याक पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
नयाँ प्याकहरू २०७८ चैत १७ देखि २०७९ वैशाख ४ सम्म खरिद गर्न सकिने पनि टेलिकमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।