काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक बहालवाला प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई १६ पन्ने फारम भराएको छ। डीआईजी वसन्त लामालाई अख्तियारले १६ पन्ने फारम भराएको हो।
उच्च स्रोतका अनुसार लामालाई केही दिनअघि मात्रै अख्तियारमा उपस्थित गराएर १६ पन्ने फारम भराइएको छ। डीआईजी लामाले अकुत सम्पत्ति कमाएको आरोप तथा उजुरी परेपछि अख्तियारले उनलाई १६ पन्ने फारम भराएको हो।
उक्त १६ पन्ने फारममा व्यक्तिगतदेखि सम्पत्तिसम्मका विवरणहरु भर्नुपर्छ। अख्तियारले यसअघि १३ पन्ने फारम भराउँदै आएको थियो। नवीन घिमिरे प्रमुख आयुक्त भएको पालामा भने १३ पन्ने फारमलाई १६ पन्ने पुर्याइएको थियो।
१३ पन्नेबाट १६ पन्ने बनाउने क्रममा सम्पादककोसँगको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अख्तियारका तत्कालीन प्रमुख आयुक्त घिमिरेले भनेका थिए, ‘इन्टेलिजेन्स समूहले गरेको अनुसन्धानका क्रममा अकुत सम्पत्ति आर्जन गरेको तथ्यहरू भेटिएमा मात्रै १६ पन्ने विवरण भराइने छ। हचुवाका भरमा कसैलाई पनि १६ पन्ने भराएर दुख दिने काम हुँदैन।’
तत्कालीन प्रमुख आयुक्त घिमिरे भनेअनुसार नै १६ पन्ने भराउँदै आइएको हो भने डीआईजी लामाको समेत केही अकुत सम्पति भेटिएपछि अख्तियारले १६ पन्ने फारम भराएको भन्ने बुझिन्छ।
डीआईजी लामा हाल प्रहरी प्रधान कार्यालयमा कार्यरत छन्। यसअघि उनी बागमती प्रदेशको प्रमुख थिए। एसएसपी हुँदा महानगरीय प्रहरी परिसर काठमाडौं, लागुऔषध नियन्त्रण ब्यूरोमा समेत बसेर काम गरेका प्रहरी अधिकृत हुन्, लामा।
सनम शाक्य हत्या काण्ड र ३३ किलो सुन तस्करी प्रकरणमा छानबिन समितिमा समेत बसेर लामाले काम गरेका थिए।
छानबिन समितिमा बसेर पुरस्कारस्वरुप काठमाडौं परिसरको जिम्मेवारी पाएका लामा तब आलोचित बनेका थिए जब सुन काण्डमा छानबिन समितिले डामेका उनकै ब्याची दिवेश लोहनीसहितका प्रहरी अधिकारीहरुले सफाइ पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।