काठमाडौं- युक्रेनमा भएको आक्रमणलाई मध्यनजर गर्दै रुसले सामाजिक सञ्जालमा प्रतिबन्ध थप कडा पारेको छ। यसैबीच रुसमा इन्स्टाग्राममाथि प्रतिबन्ध लगाउने तयारी भइरहेको छ।
इन्स्टाग्राममा रुसी सैनिकविरुद्ध हिंसा फैलाएको भन्दै यो कारबाही गरिएको हो। वास्तवमा, इन्स्टाग्रामको मूल कम्पनी मेटा हो। मेटाले भनेको छ,‘हाम्रा प्रयोगकर्ताहरूलाई केही देशहरूमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र रूसी सैनिकहरूविरुद्ध प्रदर्शन भएका सामाग्री अपलोड गर्न अनुमति दिनेछौं।’
यसको मतलब यो हो कि केहि देशहरूमा मेटाले अस्थायी रूपमा आफ्नो प्लेटफर्ममा रूसी सैनिकहरूविरुद्ध भएको प्रदर्शनका पोस्टहरूलाई अपलोड गर्न अनुमति दिनेछ। यद्यपि, मेटाले रूसी नागरिकहरूविरुद्ध हिंसा भएको पोस्टहरूलाई अपलोड गर्न अनुमति नदिने जनाएको छ।
मेटाको नीतिमा परिवर्तन भएपछि रुसले अमेरिकालाई सोसल मिडिया कम्पनीका यस्ता गतिविधि बन्द गर्न आग्रह गरेको छ। समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार रूसको अनुसन्धान समितिले शुक्रबार मेटाविरुद्ध आपराधिक अनुसन्धान सुरु गर्ने जनाएको छ।
४ मार्चमा रुसमा फेसबुकमाथि प्रतिबन्ध लगाउने कुरा भएको थियो। मेटा कम्पनी इन्स्टाग्राम, फेसबुक र ह्वाट्सएप जस्ता सोशल मिडिया र मेसेजिङ प्लेटफर्महरूको मूल कम्पनी हो। यद्यपि, हालसम्म रुसमा ह्वाट्सएप ब्लक गरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।