काठमाडौं- भारतीय आयकर विभागले चिनियाँ मोबाइलफोन निर्मता कम्पनी हुआवेईको भारतमा रहेको कार्यालयमा छापा मारेको छ। समाचार एजेन्सी एएनआईका अनुसार विभागले कर छलीको एक मुद्दाको अनुसन्धानको सिलसिलामा दिल्ली, गुरुग्राम र बैंगलोरस्थित कार्यालयमा छापा मारेको हो।
यस सम्बन्धमा आयकर विभागको टोलीले मंगलबार पनि बैंगलोरमा रहेको कम्पनीको कार्यालयमा छापा मारेको थियो। एएनआईका अनुसार विभागका अधिकारीहरूले वित्तीय कागजातहरू, खाता, भारतीय व्यापार र विदेशी लेनदेनहरू हेरिरहेका छन्।
गत वर्ष आयकर विभागले चिनियाँ मोबाइल कम्युनिकेशनका ह्यान्डसेट निर्माता शाओमी र ओप्पोको कार्यालयमा छापा मारेको थियो। विभागले यी कम्पनीहरूले भारतीय कर कानून र नियमहरूको उल्लंघन गरी धन आर्जन गरेको दाबी गरेको छ।
यसैबीच हुआवेईले एक विज्ञप्ति जारी गर्दै भारतमा सबै नियम पालना गरेर कारोबार गरेको दाबी गरेको छ। ‘यस बिषयमा विभागमा सम्पर्क गर्नेछौं र नियम अनुसार पूर्ण सहयोग गर्नेछौं,’ कम्पनीले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।