काठमाडौं– विदेशी ब्राण्डका रक्सी (मदिरा) चोरी पैठारी (भन्सार छली) गरेर काठमाडौंमा बिक्री गर्दै आएका सन्तोषचन्द्र बख्रेलले सुर्तीजन्य र कस्मेटिक पदार्थको पनि अवैध कारोबार गर्ने गरेको खुलेको छ।
महानगरीय अपराध महाशाखाले चलाएको 'अपरेशन लिमा'को फलोअप अनुसन्धानका क्रममा सन्तोषचन्द्र बख्रेलले भन्सार छली गरेर ल्याएका सुर्तीजन्य पदार्थको समेत कारोबार गर्ने गरेको खुलेको हो।
प्रहरीका अनुसार बख्रेलले काठमाडौंको नयाँबजार (खुसिबु)मा घर भाडामा लिएर सुर्तीजन्य पादर्थको गोदाम नै राखेका थिए। प्रहरीले उनको गोदाममा छापा मारेर ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ र सोको प्याकिङमा प्रयोग हुने खोल (प्याकेट) बरामद गरेको छ।
प्रहरीका अनुसार बख्रेलको गोदामबाट विभिन्न कस्मेटिकका सामानहरू (स्याम्पु, साबुन, क्रिम) तथा विदेशी ब्रान्डका विभिन्न चुरोटहरू पनि बरामद गरिएको छ।
बख्रेलको कोठाबाट सुर्तीको धुलो रहेको १०० थान बोरा, सुपरपावर सुर्तीको खोल रहेको २९ थान बोरा, स्याम्पु, साबुनसहितको ९७ थान बोरा, विदेशी ब्रान्डका ६ सय ४० बन्डल चुरोट, ३० पिस लेडिज कुर्तालगायत सामान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले उनको गोदामबाट ५० लाख रुपैयाँ बराबरको सुर्तीजन्य तथा कस्मेटिक पदार्थ बरामद गरिएको जनाएको छ।
बलिउड अभिनेता सलमान खानको ब्राण्ड बिइङ ह्युमनका नेपाली बिक्रेता समेत रहेका पर्सा घर भएका ३९ वर्षीय बख्रेल विदेशी ब्राण्डका मदिरा (रेड लेबल, ब्ल्याक लेबल, एबसोल्युट भोड्का, चिभास रिगल) लगायत भन्सार छली गरेर ल्याएर नेपालमा बिक्री गर्ने गरका थिए।
विदेशी ब्राण्डका रक्सी भन्सार छली गरेर बिक्री गरेको आरोपमा प्रहरीले बख्रेलसहित ४ जनालाई पक्राउ गरेको थियो।
थप अनुसन्धानका लागि बख्रेललाई राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।