काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुने सम्भावना छ।
हाल देशका हिमाली भूभाग र कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा छ। तराईका केही स्थानमा तुवाँलो लागेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, मंगलबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुनेछ। लुम्बिनी प्रदेशको हिमाली भूभागमा पनि आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
राति तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।
राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।