काठमाडौं– भन्सार छलेर काठमाडौं भित्र्याइएका मदिरा प्रहरीले बरामद गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले करिब तीन साता लामो अनुसन्धान गरी भन्सार छलेका मदिरासहित चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नेपाली सेनाका पूर्वहवल्दारदेखि बिइङ ह्युमनका नेपाली बिक्रेतासम्म छन्। भारतीय कपडा ब्राण्ड बिइङ ह्युमनका नेपाली बिक्रेता पर्सा घर भएका ३९ वर्षीइ सन्तोषचन्द्र बख्रेल, नेपाली सेनाका पूर्वहवल्दार सर्लाहीको वरहथवा नगरपालिका–९ घर भएका ३८ वर्षीय नारायणप्रसाद घिमिरे, कागेश्वरी मनहरा नगरपालिका–६ का ३० वर्षीय शैलेश पन्त र पर्साको सुवर्णपुरका २८ वर्षीय रवीन पाख्रीन छन्।
भन्सार छलेर ल्याइएका रेड लेबल, ब्ल्याक लेबल, एबसोल्युट भोड्का, चिभास रिगल महाशाखाको टोलीले बरामद गरेको छ।
रामकोट, बानेश्वर, कपन लगायतका विभिन्न स्थानहरूबाट २९६ कार्टुन मदिरासहित उनीहरुलाई नियन्त्रणमा लिइएको महाशाखाका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले बताए।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ। साथी उक्त मदिरा नक्कली हुनसक्ने भन्दै गुणस्तर समेत परीक्षण गर्न पठाइएको महाशाखाले जनाएको छ।
रवि भन्ने भारतिय नागरिक र हाल पक्राउ परेका बख्रेलको योजनामा भारतबाट राजश्व छलेर नेपाल ल्याई मदिरा विक्री वितरण गरेको अनुसन्धानबाट खुलेको छ।
बख्रेलले ३ महिना अगावै पहिलो पटक १६० कार्टुन, दोस्रो पटक २०० कार्टुन र तेस्रो पटक ३०० कार्टुन ब्ल्याक लेबल, रेड लेबल, चिभास रिगल र ऐब्सुलेट भोड्का ल्याई बेचेको खुलेको छ।
बख्रेलले बजारमा विक्री वितरण गर्न ईन्फिनिटी लिक्योर, मुलपानीका संचालक शैलेश पन्तसँग मिलेर काम गर्दै आएका थिए। घिमिरेले उक्त ब्राण्डको मदिरा डिउटी फ्रीको हो भन्दै ग्राहकलाई विक्री गर्ने गरेका थिए।
राजश्व छलिको मदिरा विशेषतः पार्टी प्यालेसमा विक्री वितरण गर्ने गरेको पाइएके छ। बरामद मदिराको अन्दाजी बजार मूल्य डेढ करोड रुपैयाँ बराबरको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।