काठमाडौं–तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझेका छन् । तिहार बिदा सुरु हुनुअघि नै कार्कीले नियुक्तिपत्र बुझेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।
तर, नियुक्तिपत्र बुझ्दैमा उनी सहज रूपमा नयाँ जिम्मेवारीमा काम गर्न तयार भएका हुन् भन्ने प्रश्न भने टरेको छैन । सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका कार्की र सरकारबीचको खटपटका बीच अब उनले प्रधानमन्त्री कार्यालयमा बसेर कसरी काम गर्छन् भन्ने चासो बढेको छ ।
कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन आईजीपी कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । ३३औँ प्रहरी महानिरीक्षकका रूपमा कार्यरत कार्कीलाई नयाँ जिम्मेवारीमा खटाउने निर्णयसँगै डा. मनोज केसीले प्रहरी संगठनको नेतृत्व सम्हालिसकेका छन् ।
सरकारको निर्णयलाई गैरकानुनी भन्दै कार्की त्यसको भोलिपल्टै सर्वोच्च अदालत पुगेका थिए । आफूलाई आईजीपीबाट हटाएर नयाँ जिम्मेवारीमा पठाउने निर्णय बदर गर्न माग गर्दै उनले रिट दायर गरेका हुन् । उक्त रिटमाथि कात्तिक ३० गते पहिलो सुनुवाइ हुने तय भएको थियो ।
यसबीच कार्कीले नियुक्तिपत्र भने बुझेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरूका अनुसार उनको नयाँ जिम्मेवारीका लागि सिंहदरबारस्थित कार्यालयमा कार्यकक्षसमेत तयार गरिएको छ ।
प्रधानमन्त्रीको कार्यकक्ष रहेकै तलामा रहेको कोठा नम्बर २०७ मा कार्कीका लागि नेमप्लेटसहितको कार्यकक्ष तयार पारिएको छ । कार्यालयका एक उच्च अधिकारीका अनुसार विशेष सुरक्षा सल्लाहकारका रूपमा कार्कीका लागि आवश्यक व्यवस्थापन मिलाइसकिएको छ ।
सचिवसरह सुविधा, तर काम गर्ने वातावरण कस्तो ?
प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा कार्कीले सरकारका सचिवसरह सुविधा पाउने व्यवस्था गरिएको छ । सचिवसरहको कार्यकक्ष, सवारीसाधन र चालकको सुविधा उनलाई उपलब्ध गराइने प्रधानमन्त्री कार्यालयका अधिकारीहरू बताउँछन् ।
यद्यपि, नियुक्तिपत्र बुझिसके पनि कार्कीले नयाँ जिम्मेवारीमा नियमित रूपमा काम सुरु गरेका छन् वा छैनन् भन्ने स्पष्ट भइसकेको छैन । यसअघि प्रयोग गर्दै आएको मोबाइल नम्बरसमेत उनले चलाउन छाडेको उनीनिकटस्थहरू बताउँछन् ।
एकातिर आफूलाई आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध कानुनी लडाइँ, अर्कोतिर त्यही सरकारअन्तर्गत प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी । यस्तो परिस्थितिमा कार्कीले प्रधानमन्त्री कार्यालयमा सहज रूपमा काम गर्न सक्लान् वा उनको नियुक्ति कानुनी तथा प्रशासनिक विवादकै घेरामा रहनेछ भन्ने प्रश्न उठेको छ ।
नियुक्तिपत्र बुझेसँगै कार्कीको नयाँ जिम्मेवारी औपचारिक रूपमा अघि बढ्ने बाटो खुले पनि प्रधानमन्त्री कार्यालयमा उनको कार्यशैली र सरकारसँगको सम्बन्ध कस्तो रहन्छ भन्ने हेर्न बाँकी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।