



काठमाडौं– बचौलिया इनम सापकोटासँग कनेक्सन देखिएका प्रधानमन्त्री वालेन्द्र शाह बालेनका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार (बेन)माथि कारबाहीबारे सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका जिम्मेवार पदाधिकारीहरुले मुख खोलेका छन् । सापकोटाको मोबाइल बेनको घरमा राखिएको विषयमा छानबिन हुनुपर्ने मत उनीहरुको देखिएको छ ।
रास्वपा महामन्त्री विपिन आचार्यले आइतबार चीन भ्रमणमा जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधेको प्रश्नको जवाफमा दिँदै ‘आमसञ्चारमाध्यममा आएका सबै विषय’मा छानबिन हुनुपर्ने बताए । उनले यसो भन्दा बेनको नाम भने लिएनन् ।
पत्रकारहरूले पटक–पटक कुमार बेन प्रकरणमा रास्वपाको अडानबारे नेताहरूसँग प्रश्न सोधेपछि प्रवक्ता जगदीश खरेलले पनि ‘ प्रधानमन्त्रीको सल्लाहकार’ को विषयमा उठेका प्रश्नमा सरकारले एक्सन लिने विश्वास प्रकट गरे ।
‘‘प्रधानमन्त्रीले केही सोच्नु भएको होला, सरकारले लिने एक्सनमा रास्वपाको समर्थन रहन्छ’ उनले भने ।
महामन्त्री आचार्यले मिडियामा आएका कुराको निष्पक्ष छानबिन हुने विश्वास व्यक्त गरे । 'रास्वपाको उदय नै सुशसानका लागि भएको हुनाने सुशासनको प्रश्नमा कम्परमाइज गर्दैन, पार्टी भित्र या बाहिर’ आचार्यले भने, ‘कहीँकतै कसैको दोष रहेछ भने त्यसको सही निरुपण गर्न प्रधानमन्त्री र रास्वपा सरकार सक्षम छ ।’
‘निष्पक्ष छानबिन पक्कै हुन्छ । दोषी कोही रहेछ भने न हिजो छुटेको थियो, न आज छुटछ’ उनको भनाई थियो ।
प्रहरी हिरासतमा रहेका इनमको मोबाइल प्रहरी अनुसन्धानकै क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार बेनको घरमा लगिएको र इनमसँगको कन्भर्सेसन डिलिट गरिएको समाचारहरु आइरहेको छ, प्रहरीको फरेन्सिक परीक्षणमा पनि यसको पुष्टि भएको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।