काठमाडौं। फ्लोरियन विर्ट्जले दुई गोल गरेपछि जर्मनीले नेसन्स लिग फुटबलमा नेदरल्यान्ड्सलाई ५–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।
सोमबार बर्लिनमा भएको खेलमा जर्मनीले सुरुदेखि नै प्रभावशाली प्रदर्शन गर्यो। नयाँ प्रशिक्षक योर्गेन क्लोपको नेतृत्वमा जर्मन टोलीले पछिल्ला ६ खेलमा उल्लेख्य सुधार देखाएको छ।
घरेलु मैदानमा जर्मनीका लागि डेरी शेरहान्तले पहिलो हाफ सकिनुअघि गोल गर्दै अग्रता दिलाए। उनले नेदरल्यान्ड्सका कप्तान डेन्जेल डम्फ्रिजलाई छक्याउँदै पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट प्रहार गरेका थिए।
खेलको ६०औं मिनेटमा विर्ट्जले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए। त्यसको पाँच मिनेटपछि निको श्लोटरबेकले गोल गरे।
विर्ट्जले ७१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने ब्रायन ग्रुडाले ७७औं मिनेटमा जर्मनीका लागि पाँचौं गोल थपे।
जर्मनीका लागि विर्ट्जले दुई गोल गर्दा शेरहान्त, श्लोटरबेक र ग्रुडाले समान एक गोल गरे। ग्रुडाले दुई गोलमा असिस्टसमेत प्रदान गरे।
खेलपछि प्रशिक्षक क्लोपले खेलाडीको मेहनत र प्रतिबद्धताको प्रशंसा गरे।
‘आज यहाँ उपस्थित सबैजना मुस्कानसहित घर फर्किनेछन्। आगामी तीन–चार महिनासम्म जर्मन राष्ट्रिय टोलीलाई लिएर कसैले प्रश्न उठाउने छैन। यो राम्रो कुरा हो,’ क्लोपले भने।
उनले जर्मन टोलीको भविष्यप्रति पनि आशावादी रहेको बताए।
यसै समूहको अर्को खेलमा ग्रीसले घरेलु मैदानमा सर्बियालाई १–० ले हरायो। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका जर्जोस मासुरासले ६९औं मिनेटमा निर्णायक गोल गरे।
जर्मनी, नेदरल्यान्ड्स र ग्रीसले समान ११ अंक जोडे पनि जर्मनी र नेदरल्यान्ड्सले क्वार्टरफाइनलमा स्थान बनाए। दुवै टोलीले शुक्रबार हुने क्वार्टरफाइनल ड्रको प्रतीक्षा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।