काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को पहिलो क्वालिफायरमा मंगलबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। लिग चरणमा शीर्ष दुई स्थान हासिल गरेका यी टोलीबीचको खेल जित्ने टोलीले सीधै फाइनलमा स्थान बनाउनेछ।
लुम्बिनी ११ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको हो। सात खेल खेलेको लुम्बिनीले पाँचमा जित, एकमा हार र एक खेलमा अंक बाँडेको थियो। सुदूरपश्चिमले सात खेलबाट पाँच जित र दुई हारसहित १० अंक जोड्दै दोस्रो स्थान हासिल गरेको थियो।
लुम्बिनीले यस सिजनको पहिलो खेलमै सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो। त्यसपछि चितवन राइनोजसँगको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडे।
लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८ विकेट र जनकपुर बोल्ट्सलाई १६ रनले हरायो। काठमाडौं गोर्खाजसँग भने ३४ रनले पराजित भयो।
त्यसपछि पुनरागमन गरेको लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८ विकेट, कर्णाली याक्सलाई ४ विकेट र विराटनगर किङ्सलाई ४ विकेटले पराजित गर्यो। लगातार जितसहित लिग चरण पूरा गरेको लुम्बिनी शीर्ष स्थानमा रह्यो।
सुदूरपश्चिमले पहिलो खेलमै लुम्बिनीसँग ७ विकेटको हार बेहोरेको थियो। त्यसपछि पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको थियो।
तेस्रो खेलमा विराटनगर किङ्ससँग ३५ रनले पराजित भएको सुदूरपश्चिमले त्यसपछि लगातार चार खेल जित्यो।
उसले चितवन राइनोजलाई ५ विकेट, कर्णाली याक्सलाई ३९ रन, जनकपुर बोल्ट्सलाई २७ रन र काठमाडौं गोर्खाजलाई ७ रनले हरायो। पाँच जित र दुई हारसहित १० अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा रह्यो।
एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमबीच अहिलेसम्म चार खेल भएका छन्। दुवै टोलीले समान दुई–दुई खेल जितेका छन्। सन् २०२४ को पहिलो भेटमा सुदूरपश्चिम ४५ रनले विजयी भएको थियो। सन् २०२५ को लिग चरणमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले हराएको थियो।
तर, सन् २०२५ को फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। यस सिजनको पहिलो भेटमा पनि लुम्बिनीले ७ विकेटको जित निकालेको थियो।
यसरी समग्र हेड टु हेडमा दुवै टोली बराबरीमा रहे पनि पछिल्ला दुई भेटमा लुम्बिनी विजयी भएको छ।
पहिलो क्वालिफायरको विजेता टोलीले सीधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले भने दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्दै फाइनल पुग्ने अर्को अवसर पाउनेछ।
एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।