



काठमाडौं – नेकपा (एमाले) ले बिचौलिया इनम सापकोटा प्रधानमन्त्री वालेन्द्र शाह बालेनको कोर टिममा रहेको दाबी गरेको छ ।
सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बालेनलाई झापामा उम्मेदवार बनाउने कि नबनाउने भन्ने सर्वेक्षण इनमकै नेतृत्वमा भएको दाबी पनि गरे । इनम चुनावको क्याम्पियनमा सहभागीमात्र नभई प्रधानमन्त्री भएपछि पनि बालेनको कोर टिममा रहेको कुरा बाहिर आएको पोखरेलले बताए ।
‘यही सरकारले इनम सापकोटालाई पक्राउ गरेको छ । तर पनि अनुसन्धानको प्रक्रिया रहस्यपूर्ण देखिँदैछ, पारदर्शी छैन’ उनले भने ।
मंसिर २ र ३ गते आयोजना गर्न लागिएको राष्ट्रिय भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउको अभियोजन गर्न सरकार असफल भएको बताए ,
‘बिनातथ्य र प्रमाण आग्रहका आधारमा पार्टी अध्यक्षलाई गिरफ्तार गर्ने, निवर्तमान गृहमन्त्रीलाई गिरफतार गर्ने ?’ पोखरेलेको टिप्पणी थियो ।
१३ दिन हिरासतमा राखेर अभियोजन पनि गर्न नसकेको भन्दै तथ्य र प्रमाण नभएकाले आजसम्म अभियोजन गर्ने क्षमता सरकारले देखाउन नसकेको तर्क गरे ।
पोखरेलले सुनसरीमा गोली चलेको घट्नाको जिम्म अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले लिनु पर्ने बताए । यही कारण ओली र लेखकलाई लगाएको जस्तै आरोपमा अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीलाई लाग्ने भएकाले उनीहरुलाई गिरफ्तार गर्नु पर्ने दाबी उनको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।