काठमाडौं- नेपाली भान्सामा अनिवार्य प्रयोग हुने लसुन, धनियाँ र बेसार वार्षिक करिब दुई अर्ब रुपैयाँको आयात हुने गरेको छ। पछिल्लो पाँच वर्षमा यी मसलाजन्य तरकारी करिब साढे १० अर्बको आयात भएको छ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ देखि चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लसुन, बेसार र धनिया गरी कुल १० अर्ब ४१ करोड ४५ लाख ६७ हजार रुपैयाँ बराबरको आयात भएको छ। आयात भएको मध्ये ८० प्रतिशत लसुन चीनबाट आउँछ।
त्यसैगरी ९० प्रतिशत बेसार र धनियाँ भारतबाट आयात हुने गरेको छ। अन्य तरकारीमा भारतको भर भए पनि लसुन भने चीनले धानिदिएको छ।
ठूला होटेल, रेष्टुरेन्टमा चिनियाँ लसुन आउने हुँदा ठूलो परिमाणमा उताबाट लसुन आउने गरेको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका सूचना अधिकारी सन्दीप सुवेदीले बताए। आलु, प्याज खेती कार्यक्रम सन्चालन भए पनि मसलाजन्य तरकारी उत्पादनका कार्यक्रम हुन सकेको छैन।
मसला बाली विकास केन्द्रअन्तर्गत बेसार प्रवद्र्धन कार्यक्रम एक पटक मात्र सञ्चालन गरिएको उनले बताए। ‘नेपालमा कृषकले बेसार आफ्नो आवश्यकताका लागि र स्थानीय बजारमा लैजाने गरी मात्र उत्पादन गरिरहेका छन्,’ उनले भने, ‘उत्पादन क्षेत्रफल नै कम छ। त्यसैले आयात बढेको हो।’
वार्षिक १ अर्बको लसुन आयात
भन्सार विभागको तथ्याङ्कअनुसार विदेशबाट विशेष गरी ताजा, सुकेको, छोडाएको र नछोडाएको लसुन आयात हुने गरेको छ। भारत र चीनबाहेक आइभरी कोस्ट, थाइल्यान्ड, बेलायतलगायत देशबाट पनि लसुन आयात हुने गरेको छ।
लसुन मात्रै नेपालमा वार्षिक करिब १ अर्ब रुपैयाँ बराबरको आयात हुन्छ। पाँच वर्ष ६ महिनामा चार अर्ब ७२ करोड ४५ लाख १० हजार रुपैयाँ बराबरको लसुन विदेशबाट आएको छ भने ९८ लाख २४ हजारको मात्रै निर्यात भएको छ। आयात तथा निर्यातबाट एक अर्ब ३० करोड एक लाख १६ हजार रुपैयाँ राजस्व उठेको छ।
विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३/७४ मा ७६ करोड ८७ लाख ४२ हजार रुपैयाँ बराबरको लसुन आयात हुँदा ५ लाख ८३ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो। आर्थिक वर्ष २०७४/७५ मा ८० करोड ८२ लाख ६० हजार रुपैयाँ बराबरको आयात हुँदा ७ लाख २३ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो।
आर्थिक वर्ष २०७५/७६ मा ८३ करोड ३० लाख ३१ हजार रुपैयाँ बराबरको लसुन आयात भयो। यही अवधिमा ११ लाख ३८ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा चीन र भारतबाट मात्रै ७५ करोड ४२ लाख २७ हजार रुपैयाँ बराबरको लसुन आयात भयो। त्यही अवधिमा ७३ लाख ८० हजार रुपैयाँ बराबरको निर्यात भयो।
आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ५० करोड १९ लाख २६ हजार रुपैयाँ बराबरको मात्रै लसुन आयात भएको छ। यो वर्ष निर्यात शून्य छ। चालु आर्थिक वर्षको ६ महिनामा ५८ करोड ३२ लाख ४ हजार रुपैयाँ बराबरको आयात भइसकेको छ। यो वर्ष पनि निर्यात शून्य छ। नेपालबाट हङकङ, जापान, भारत, सिंगापुर, चीनमा कतार, ओमन, युएई, बेलायत लसुन निर्यात हुने गरेको छ।
| आर्थिक वर्ष |
आयात (रुपैयाँमा) |
निर्यात (रुपैयाँमा) |
राजस्व (रुपैयाँमा) |
| २०७३/७४ |
७६ करोड ८७ लाख |
पाँच लाख ८३ हजार |
१८ करोड ४३ लाख |
| २०७४/७५ |
८० करोड ८२ लाख |
सात लाख २३ हजार |
२० करोड ११ लाख |
| २०७५/७६ |
८३ करोड ३० लाख |
११ लाख ३८ हजार |
२१ करोड ६० लाख |
| २०७६/७७ |
७५ करोड ४२ लाख |
७३ लाख ८० हजार |
१८ करोड ३८ लाख |
| २०७७/७८ |
१ अर्ब ५० करोड १९ लाख |
– |
३७ करोड ४१ लाख |
| २०७८/७९ |
५८ करोड ३२ लाख |
– |
१४ करोड ५ लाख |
| जम्मा |
४ अर्ब ७२ करोड ४५ लाख |
९८ लाख २४ हजार |
१ अर्ब ३० करोड १ लाख |
स्रोतः भन्सार विभाग
पछिल्लो तीन वर्षमा धनियाँको आयात मात्र
घरको छतमा समेत बाह्रै महिना गमलामै फलाउन सकिने धनिँया वार्षिक ५० करोड रुपैयाँ बराबरको आयात हुन्छ। नेपालमा भारतबाट हरियो र बिउको धनियाँ आयात हुने गरेको छ। भारतबाहेक इन्डोनेसिया, रसिया, इटाली, टर्की, युएई, अर्जेन्टिना, बुल्गेरिया, मोरक्को, नामिबिया, मोल्डोभा, युक्रेन र अमेरिकाबाट पनि हरियो धनिया र बिउ आयात हुन्छ।
नेपालबाट भने हरियो धनिया भारत निर्यात हुने गरेको थियो। तर, निकै थोरै परिणाममा मात्र निर्यात हुन्थ्यो। पछिल्लो तीन वर्षमा नेपालबाट कुनै पनि देशमा धनियाँ निर्यात भएको छैन।
विभागको तथ्याङ्कअनुसार पाँच वर्ष ६ मिहनामा तीन अर्ब ८६ करोड ९५ लाख ८६ हजार रुपैयाँ बराबरको आयात हुँदा ५ लाख १९ हजारको मात्रै निर्यात भएको छ। जसबाट ७२ करोड १७ लाख सात हजार रुपैयाँ राजस्व उठेको छ।
विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/७४ मा ५३ करोड १९ लाख १७ हजार रुपैयाँ बराबरको धनिया आयात भएको थियो। त्यही अवधिमा ६४ हजार रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो।
त्यसैगरी, २०७४/७५ मा ५० करोड ४२ लाख ४६ हजार रुपैयाँ बराबरको आयात हुँदा ४ लाख ४२ हजारको निर्यात भएको थियो। २०७५/७६ मा ४९ करोड ४४ लाख १३ हजार रुपैयाँ बराबरको आयात भयो। त्यही अवधिमा १३ हजार रुपैयाँ बराबरको धनियाँ निर्यात भयो। त्यसपछि विदेश धनियाँ निर्यात भएको छैन।
२०७६/७७ मा ८६ करोड ६३ लाख ७२ हजार रुपैयाँ बराबरको धनियाँ आयात भएको थियो। २०७७/७८ मा ९६ करोड १६ लाख ६ हजार र चालु आर्थिक वर्षमा तीन अर्ब ८६ करोड ९५ लाख ४६ हजार रुपैयाँ बराबरको धनियाँ आयात भएको छ।
| आर्थिक वर्ष |
आयात (रुपैयाँमा) |
निर्यात (रुपैयाँमा) |
राजस्व (रुपैयाँमा) |
| २०७३/७४ |
५३ करोड १९ लाख |
६४ हजारको |
९ करोड ६५ लाख |
| २०७४/७५ |
५० करोड ४२ लाख |
४ लाख ४२ हजार |
९ करोड ४६ लाख |
| २०७५/७६ |
४९ करोड ४४ लाख |
१३ हजार |
९ करोड ३१ लाख |
| २०७६/७७ |
८६ करोड ६३ लाख |
– |
१६ करोड २२ लाख |
| २०७७/७८ |
९६ करोड १६ लाख |
– |
१७ करोड ९८ लाख |
| २०७८/७९ |
५१ करोड ९ लाख |
– |
९ करोड ५३ लाख |
| जम्मा |
३ अर्ब ८६ करोड ९५ लाख |
५ लाख १९ हजार |
७२ करोड १७ लाख |
स्रोतः भन्सार विभाग
पाँच वर्षमा ८२ करोडको बेसार आयात
नेपालमा वार्षिक करिब २० करोडको बेसार आयात हुने भन्सार विभागको तथ्यांकले देखाएको छ। बेसार खेतीमा आवश्यक लगानी नहुँदा भारतसहित तेस्रो मुलुकबाट आयात हुदै आएको छ। पाँच वर्ष ६ महिनामा एक अर्ब ८१ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार आयात भएको छ। यही अवधिमा एक करोड ५४ लाख आठ हजार रुपैयाँ बराबरको मात्र निर्यात भएको छ।
स्थानीय उत्पादनले बजारको माग धान्न नसकेपछि बेसारको आयात बढ्दै गएको छ। मुख्यतः ताजा, धुलोसहित विभिन्न स्वरूपमा बेसार आयात हुने गरेको छ। नेपालमा कपुरकोट हलेदो र कपुरकोट हलेदो–२ नामको बेसार खेती हुन्छ।
नेपालमा भारतसहित बंगलादेश, म्यानमार, सिङगापुर, इथोपिया, पाकिस्तान, इन्डोनेसिया र चीनबाट बेसार आयात हुने गरेको छ। आर्थिक वर्ष २०७३/७४ मा १६ करोड ९६ लाख ८१ हजार रुपैयाँ बराबरको बेसार आयात भएको थियो। यही अवधिमा ८५ लाख १३ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो।
आर्थिक वर्ष २०७४/७५ मा १६ करोड ७६ लाख ६६ हजार रुपैयाँको आयात हुँदा ३७ लाख ३६ हजार रुपैंयाँ बराबरको निर्यात भयो। आर्थिक वर्ष २०७५/७६ मा २६ करोड १९ लाख ६९ हजार रुपैंयाको आयात र ६ लाख ८१ हजार रुपैयाँ बराबरको निर्यात भयो।
त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा ४९ करोड ६२ लाख ५६ हजार रुपैयाँ बराबरको बेसार आयात भएको छ। ३० हजार रुपैयाँ बराबरको निर्यात भएको छ। गत आर्थिक वर्षमा ५२ करोड ९९ लाख ९८ हजार रुपैयाँ बराबरको आयात भयो। तर, निर्यात शून्य भयो। त्यस्तै चालु आर्थिक वर्षको पाँच महिनामा १९ करोड ३९ लाख ४१ हजार रुपैयाँ बराबरको आयात भएको छ। यही अवधिमा २४ लाख ८४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ।
| आर्थिक वर्ष |
आयात (रुपैयाँमा) |
निर्यात (रुपैयाँमा) |
| २०७३/७४ |
१६ करोड ९६ लाख |
८५ लाख १३ हजार |
| २०७४/७५ |
१६ करोड ७६ लाख |
३७लाख ३६ हजार |
| २०७५/७६ |
२६ करोड १९ लाख |
६ लाख ८१ हजार |
| २०७६/७७ |
४९ करोड ६२ लाख |
३० हजार |
| २०७७/७८ |
५२ करोड ९९ लाख |
– |
| २०७८/७९ |
१९ करोड ३९ लाख |
२४ लाख ८४ हजार |
| जम्मा |
१ अर्ब ८१ करोड ९५ लाख |
१ करोड ५४ लाख आठ हजार |
स्रोतः भन्सार विभाग
छैन कार्यक्रम
बेसार, लसुन र धनियाँको नेपालमा ज्यादै कम मात्र व्यवसायिक खेती हुन्छ। जसकारण यी मसला बालीमा परर्निभर हुनु परेको छ। सरकारले पनि व्यावसयिक खेती कार्यक्रम सञ्चालन गर्न नसक्दा निर्यातभन्दा आयात तेब्बर देखिएको हो।
सरकारले मसला बाली विकास केन्द्रबाट एक पटक मात्र बेसारको व्यवासायिक खेती कार्यक्रम सञ्चालन गरेको थियो। यी तरकारी खेतीमा किसानलाई बिउ अनुदान दिने, तालिम दिने जस्ता कार्यक्रम हुने गरेको छैन।
किसानले नेपालमा स्थानीय जात नै उत्पादन गर्ने गरेका छन्। उन्नत जातको लागि कुनै कार्यक्रम नहुँदा उत्पादन बढ्न नसकेको सूचना अधिकारी सुवेदीले बताए। उनले भने, ‘तर लसुन खेती गर्न कोही इच्छुक भए राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र अन्तर्गत गर्न पाइन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।