काठमाडौं– सन् २००८ सम्ममा कोही पनि गुरुङसेनीले सगरमाथा आरोहण गरेका थिएनन्। अझै पनि हिमाल आरोहणमा पुरुषहरूकै बाहुल्य छ। त्यति बेला सगरमाथा आरोहणको लागि आँट गर्नु महिलाका लागि चुनौतीपूर्ण मानिन्थ्यो। माया गुरुङले त्यो चुनौती स्वीकार गरिन्।
उनी गुरुङ समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनिन्। त्यसपछि उनको हिमाल आरोहणले झनै गति लियो। उनले सात महादेशका सात वटै उच्च हिमाल आरोहण गरिन्। यसरी सातै उच्च हिमाल आरोहण गर्ने उनको समूह पहिलो ‘सेभेन समिट्स क्लाइमर्स वुमन टिम’ भएको छ।
उनको टोलीले एशियाको अग्लो सगरमाथा (८,८४८ मिटर), अष्ट्रेलियाको काउजियास्को (६,९६२ मिटर), युरोपको एल्ब्रुज (५,६४२ मिटर), अफ्रिकाको किलिमन्जरो (६,१९४ मिटर), दक्षिण अमेरिकाको अकोन्कागुवा (६,९६२ मिटर), उत्तर अमेरिकाको डेनाली (६,१९४ मिटर) र अन्टार्कटिकाको भिन्सन मसिफ (४,८९२ मिटर) को आरोहण गरेको थियो। यो अभियानका लागि सन् २००९ मा ‘एभरेष्ट वुमन सेभेन समिट्स इको एक्सन’ नामक समूह बनाइएको थियो। उक्त आरोहण दलमा मायासहित साइँली बस्नेत, पुजन आचार्य, आशाकुमारी सिंह, निम्दोमा शेर्पा, पेमा डिकी शेर्पा र चुनु श्रेष्ठ लगायत १० नेपाली महिला आरोही थिए।
उनले जुगल हिमालमा पहिलो मानव पाइला पनि राखेकी थिइन्। सरकारले सन् २०१४ मा उक्त हिमाल आरोहण खुला गरेको थियो। उनी नेतृत्वको टोलीले सन् २०१९ मा पहिलो पटक जुगल हिमाल आरोहण गरेको थियो।
त्यसपछि भने उनी आफ्नै जन्मस्थान पाँचपोखरीमा समाजसेवामा लागिन्। गाउँको विकासमा टेवा पुर्याउन थालिन्। पर्यटन विकासमा पनि योगदान गरिन्। अनि, राजनीतिबारे बुझ्न र जानकारी राख्न थालिन्। त्यही कारण उनले नेतृत्वको हिम्मत गरिन्।
उनै माया गुरुङले आगामी स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छिन्। उक्त क्षेत्रको पर्यटन, सामाजिक र सहभागितामूलक विकासका लागि अध्यक्षमा उम्मेदवारी दिन चाहेको उनले बताइन्। ‘म कुनै पनि पार्टिसँग आबद्ध छैन। पार्टीबाट उम्मेदवारी दिने हैसित पनि छैन। त्यसैले कुनै पार्टीतिर नलागी स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुँ,’ उनले भनिन्।
आफ्नो गाउँ र त्यस क्षेत्रमा आवश्यक विकासबारे जानकार भएकै कारण उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ। ‘शिक्षा र सीप नभएको कारणले गर्दा अहिले धेरै युवा विदेशिनु परेको छ,’ गुरुङले भनिन्, ‘देशको विकासको नेतृत्व राजनीतिक क्षेत्रबाट नै हुन्छ। अब नेतृत्वका लागि युवा तथा महिलाहरु खुलेर आउनु पर्छ। समाज परिवर्तनमा युवाको भूमिका अग्रणी हुन्छ।’
उनले सिन्धुपाल्चोकका धेरै महिलालाई साहसी पर्यटनसम्बन्धी तालिम पनि दिएकी छिन्। ती महिला कोही आरोहणमा छन् भने कोही अन्तर्राष्ट्रिय र्याफ्टिङ गाइड बनेका छन्। ती महिलाको सफलताले पनि आफूलाई राजनीतिक नेतृत्वका लागि प्रेरित गरेको उनको भनाइ छ।
‘पर्यटन क्षेत्रमा लगानी गर्न सक्यो भने गाउँको आर्थिक, सामाजिक विकास हुन्छ। शिक्षामा लगानी गर्न सकिन्छ। अहिलेको आवश्यकता भनेको इमान्दार भएर काम गर्नु नै हो,’ उनी भन्छिन्।
आफू अहिले तीन ओटा ‘इ’ मा काम गर्दै आएको उनले बताइन्– ऐजुकेसन, इकोनोमिक र इन्भारोमेन्ट। ‘पहिलो पटक सगरमाथा आरोहण गरेर आएपछि मैले वातावरणबारे धेरै कुरा थाह पाएँ। सात वटा महादेशका अग्ला हिमाल आरोहण गरेपछि ज्ञान अझ फराकिलो भयो,’ उनले भनिन्, ‘नेपालको हिमालको वातावरण अन्य देशको हिमाली क्षेत्रको भन्दा धेरै बिग्रिएको छ। यसलाई सुधार्न वातावरणकै क्षेत्रमा काम गरेँ। अब गाउँकै मुहार फेर्न राजनीतिक नेतृत्व लिन चाहेको हुँ।’
जसले परिवारबाटै विद्रोह रोज्यो
सिन्धुपाल्चोकको भोटेनाम्लाङमा बुबा मानकाजी गुरुङ र आमा रुक्मेनु गुरुङबाट करिब ४२ वर्षअघि उनको जन्म भएको हो। उनको गाउँ जुगल हिमालको काखैमा छ। त्यही हिमालले लोभ्याएर उनी कालान्तरमा हिमाल आरोही बनेकी हुन्।
उनी १४ वर्षकी हुँदा घरमा बिहेको कुरा चलेको थियो। उनको बिहे फुपुको छोरासँग पक्का भयो। त्यति बेला काठमाडौंमा थिइन्। बिहेको अघिल्लो दिन उनी काठमाडौंबाट भागेर गाउँ पुगिन्। ‘पढ्नै पर्छ भन्ने लागेर मैले घर छाडेकी थिएँ,’ उनले भनिन्, ‘मैले बिहे नगरी पढ्ने इच्छा गर्दा बुवाले मान्नु भएन। अनि जबर्जस्ती बिहे छिनियो। भोलिपल्ट जन्ती आउने दिन थियो। म अघिल्लो दिन नै घर छाडेर हिडेँ।’
त्यस दिन उनले पहिलो पटक विद्रोह गरेकी थिइन्। त्यसपछि जिन्दगीलाई आफ्नो इच्छामा हिँडाउन थालिन्। उनको साहसले कहिल्यै हार खाएन।
गाउँबाटै एसएलसी सकिन्। आर्थिक अभावका कारण पढाइ अघि बढ्न सकेन। अनि हिमाल आरोहणतिर लागिन्। पढ्न नपाएकोमा भने उनलाई अझै दुःख लाग्छ।
हुन त, त्यस बेला छोरीमाथि हुने विभेदका कारण पनि उनको पढाइ रोकिएको हो। उनी भन्छिन्, ‘पढ्नु हुँदैन, अर्काको घरमा जाने जात भन्ने सोचाइ थियो। अहिले पनि गाउँमा त्यस खालको विभेद कायम छ,’ उनी भन्छिन्, ‘हिमालहरु चढ्दै जाँदा शिक्षा अझ महत्वपूर्ण रहेछ भन्ने थाह पाएँ। विदेशमा नेपाललाई गर्ने व्यवहार पनि थाहा पाएँ। त्यसैले म राजनीतिमा लागेर मेरो गाउँको मुहार फेर्न चाहन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।