काठमाडौँ– निर्वाचन आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन प्रेस काउन्सिललाई पत्राचार गरेको छ ।
बीबीसी वर्ल्ड सर्भिसले तयार गरेको वृत्तचित्र ‘सट लाइक द इनिमिज : इन्साइड नेपाल्स जेनजी अपराइजिङ’मा जेन–जी आन्दोलनका दौरान तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले निहत्था प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिएको उल्लेख छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज बिहीबार काउन्सिललाई पत्र पठाइएको जानकारी दिएका छन् । उनले भने, ‘हामीले तुरुन्त हटाउन निर्देशन दिएका छौं । नहटाएमा निर्वाचन कानुनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउँछौं ।’
प्रेस काउन्सिलका अनुगमन अधिकृत महेन्द्र सिंहले निर्वाचन आयोगबाट बीबीसीको डकुमेन्ट्रीबारे पत्र आएको पुष्टि गरे । सार्वजनिक वृत्तचित्रमा प्रहरीको आन्तरिक दस्तावेज समावेश गरिएको छ । दस्तावेजमा कल साइन ‘पिटर वान’ ले प्रहरी अधिकृतहरुलाई कर्फ्यू लागेको १० मिनेटपछि ‘आवश्यक बल प्रयोग गर्न’ आदेश दिएको र १२:३० बजे कर्फ्यू लागेको बिषय समेटिएको छ ।
‘पिटर वान’ नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रयोग गर्दै आएको कल साइन रहेको स्रोतलाई उद्रृत गर्दै बीबीसीले जनाएको छ ।
‘खापुङले गोली चलाउन आदेश दिएको अस्विकार गरेका छैनन् ।' नेपालका प्रमुख सुरक्षा बल मिलेर बनेको सुरक्षा कमिटीबाट यो आदेश आएको हो । कमिटीको निर्णयअघि आईजीपी खापुङले यस्तो कुनै आदेश दिएका थिएनन्,' वृत्तचित्रमा नेपाल प्रहरीका प्रवक्तालाई उद्रृत गर्दै भनिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।