काठमाडौं - नेपाली कांग्रेसले उखुको मूल्य तत्काल निर्धारण गर्न र उखु किसानले पाउन बाँकी रहेको बक्यौता रकम अविलम्ब भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासीनताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
उखु बजारमा पठाउने समय नजिकिँदै गर्दा किसानमा देखिएको चिन्तालाई तत्काल सम्बोधन गर्न बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेसले उखुको मूल्य निर्धारण गर्दा उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने मान्यता अघि सारेको छ । साथै, उखु किसानले पाउन बाँकी रहेको भुक्तानी अविलम्ब उपलब्ध गराउन पनि बैठकले माग गरेको छ ।
४९ जना केन्द्रीय सदस्यले राखे धारणा
हिजोदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा आज ४९ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन् ।
धारणा राख्ने क्रम जारी रहेकाले बैठक पुनः मंसिर १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने निर्णय भएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय सदस्यहरू रामकृष्ण यादव, राजीव कोइराला, प्रा.डा. गोविन्दराज पोखरेल, सिताकुमारी राना, भरतकुमार शाह, नरेन्द्रकुमार केरूङ, जितनारायण श्रेष्ठ, प्रकाश पन्थ, मुना भुसाल, अञ्जु झा, बालकृष्ण पाण्डे, कृष्णप्रसाद कोइराला, बुद्ध लामा, हिमालदत्त श्रेष्ठ, जितेन्द्रनारायण देव, धर्मेन्द्र पासवान, प्रा.डा. जगदीशचन्द्र पोखरेल, अनुराग खड्का, गीता गुरुङ, बालकृष्ण दाहाल, डा. अताबुल मन्सुरी, किरणकिशोर घिमिरे, डा. अञ्जनीकुमार झा, इ. लक्ष्मण के.सी., कमलकिशोर घिमिरे, कृष्ण रिजाल, वेदनारायण गच्छदार, उमेशचन्द्र यादव, इ. दीपकबाबु कँडेल, डा. भोगेन्द्रप्रसाद चौधरी, बलदेव तिमल्सिना, दीपक सोनी, डा. मुकेशराज काफ्ले, सृजना अधिकारी, इ. अमृत ज्ञवाली, कर्मा छेरिङ शेर्पा, अम्मरबहादुर बराईली, मन्जित ताम्राकार, देवकी गौतम, जमिला खातुन, मेघा शाही, प्रा.डा. सूर्यकान्त घिमिरे, डा. प्रदीप मिश्र, इ. अभिषेक आत्रेय, डा. आयुस बगाले, गौरव पाण्डे, अंशुल के.सी., इ. सुवास पौडेल र रिता शाहीले धारणा राखेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।