काठमाडौं– सर्वोच्च अदालतले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध परेको रिटमा तत्काल अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय लिन दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश डा. रत्नबहादुर बागचन्दको एकल इजलासले बुधबार उक्त आदेश दिएको हो ।
‘सफलता बोहरा समेत’ निवेदक रहेको रिटमा आनी छोइङको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै बदर गर्न माग गरिएको छ । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको छ ।
यसअघि राष्ट्रिय जेनजी नागरिक अभियानले आनीको नियुक्ति विधि र प्रक्रियाविपरीत भएको भन्दै सर्वोच्चमा रिट दायर गरेको थियो । अभियानका तर्फबाट संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट दर्ता गराएका थिए ।
रिट निवेदनमा आनीको नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा उनलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरिएको भन्दै उक्त नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाइएको थियो ।
अभियानले नियुक्ति प्रक्रिया कानुनसम्मत नभएको दाबी गर्दै सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएपछि न्यायिक निरूपणका लागि सर्वोच्च पुगेको जनाएको थियो ।
सर्वोच्चले विपक्षीहरूका नाममा सूचना म्याद जारी गरी लिखित जवाफ पेस गर्न पनि आदेश दिएको छ । विपक्षी नम्बर १ र २ का हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत तथा अन्य विपक्षीका हकमा आफैँ वा कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ ।
अदालतले दुवै पक्षबीच छलफल गरेर अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने निष्कर्षमा पुग्नु उपयुक्त हुने ठहर गर्दै २०८३ मंसिर १४ गतेका लागि पेसी तोकेको छ ।
यससँगै आनी छोइङको नियुक्ति तत्काल रोक्ने मागमा सर्वोच्चबाट कुनै अन्तरिम राहत प्राप्त भएको छैन । अब मंसिर १४ गते हुने छलफलपछि मात्रै नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश जारी हुने वा नहुने टुंगो लाग्नेछ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।