काठमाडौं– निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ । अब सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय सुनाउनेछ ।
बुधबार न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको हो ।
कार्कीले आफूलाई गैरकानुनी रूपमा आईजीपी पदबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि नेपाल लाइभले पनि उनको रिटमा सुनुवाइ हुन लागेको र अन्तरिम आदेशको टुंगो लाग्ने विषयमा समाचार प्रकाशित गरेको थियो ।
कार्की पक्षको जिकिर : गैरकानुनी रूपमा हटाइयो
कार्कीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले उनलाई आईजीपीको जिम्मेवारीबाट हटाउने सरकारको निर्णय गैरकानुनी भएको जिकिर गरेका छन् । उनीहरूले सरकारलाई विनाकारण प्रहरी महानिरीक्षकलाई पदबाट हटाउने अधिकार नरहेको र विगतका नजिरले पनि त्यसलाई समर्थन नगर्ने तर्क गरेका थिए ।
कार्कीलाई जिम्मेवारीबाट हटाएर भूमिकाविहीन बनाइएको भन्दै सरकारी निर्णय बदर गर्न र अन्तरिम आदेशमार्फत उनलाई पुनर्बहाली गर्न माग गरिएको थियो ।
सरकारको तर्क : कारबाही होइन, थप जिम्मेवारी
सरकारका तर्फबाट महान्यायाधिवक्ता डा. नारायण कँडेलले बहस गर्दै कार्कीलाई पदबाट हटाएर कारबाही गरिएको नभई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको तर्क गरेका छन् ।
सरकारको पक्षले उक्त जिम्मेवारीलाई आईजीपीभन्दा पनि महत्त्वपूर्ण जिम्मेवारीका रूपमा व्याख्या गर्दै कार्कीको रिटको औचित्यमाथि प्रश्न उठाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।