काठमाडौं– निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र विधानलाई आधिकारिक रूपमा अद्यावधिक गरेको छ ।
आयोगको मंगलबार बसेको बैठकले थापा नेतृत्वको कांग्रेसले पेस गरेको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय भएको पुष्टि गरेका छन् ।
थापा नेतृत्वको कांग्रेसले गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गरेको थियो । महाधिवेशनबाट चयन भएका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरणसहित विधान अद्यावधिक गर्न पार्टीले निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वलाई आयोगले अभिलेखमा अद्यावधिक गरेसँगै कांग्रेसको संस्थागत विवरणमा गगन थापा नेतृत्वको कार्यसमिति कायम भएको छ ।
यस निर्णयसँगै थापा नेतृत्वको कांग्रेसको नयाँ कार्यसमिति र विधानले निर्वाचन आयोगको अभिलेखमा औपचारिक स्थान पाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।