काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमले दिने इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेस गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिको सोमबार बसेको बैठकले टेलिकमको इन्टरनेट सेवा प्रवाहमा गुनासो आएको भन्दै उक्त निर्देशन दिएको हो। समितिले आगामी आयोजना जनताले अपेक्षा गरेअनुरुप बनाउन पनि टेलिकमलाई निर्देशन दिएको छ।
समितिकी सभापति कल्याणीकुमारी खड्काले भनिन्,‘नेपाल टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी नभएको गुनासो आमनागरिकमा उठिरहेको सन्दर्भमा टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी, गुणस्तरीय र आम नागरिकले अपेक्षा गरेअनुरुप बनाउन टेलिकमको आगामी आयोजना, कार्ययोजना स्पष्टरुपमा ३० दिनभित्र पेस गर्न नेपाल सरकारलाई हामीले निर्देशन गरिसकेका थियौं। फेरि हामीले त्यसलाई पुनर्निर्देशन गरेका छौं।’
समितिले टेलिकमले अघिल्लो आर्थिक वर्षमा सबै स्थानीय तहमा फोरजी सेवा विस्तार गरिसक्ने कार्ययोजना समितिमा पेस गरेको उल्लेख गर्दै बाँकी रहेका ४३ वटा स्थानीय तहमा कहिलेसम्म सेवा पुर्याउने हो? सोको कार्ययोजना पनि सात दिनभित्र पेस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सचेत गराएको छ।
त्यस्तै टेलिकमले पूर्वाधार निर्माणको काम अगाडि बढाउन नसकेको भन्दै समितिले आवश्यक जनशक्ति व्यवस्था गरी गुणस्तरीय सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनेको छ। त्यसैगरी कुनै पनि निकाय वा संस्थालाई निरुत्साहित हुनेगरी नभइ संस्थाको हितमा हुनेगरी नियमावली संशोधन गर्ने प्रक्रिया अगाडि बढाउनका लागि ध्यान पुर्याउन सरकारलाई समितिले निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।