काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदै छ। दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाटन हुने महाधिवेशनकोे सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।
उद्घाटनका लागि भृकुटीमण्डपको प्रांगणमा १५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको आयोजक समितिले जनाएको छ। कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट भने सहभागी बोलाइएको छैन।
उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कांग्रेसका प्रतिनिधिको समेत उपस्थिति रहने जनाइएको छ। सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्लेसमेत राखिएका छन्।
सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ। उद्घाटनस्थलको सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।