काठमाडौं- सार्वजनिक भएको केही समयमै लोकप्रिय हुन सफल एप क्लबहाउसले विश्वका प्रयोगकर्तामैत्री बनाउन १३ वटा नयाँ भाषा थप गरेको छ।
अब क्लबहाउस एपमा हिन्दी, कन्नड, मलयालम, तमिल, तेलुगु, फ्रेन्च, जर्मन, इन्डोनेसियाली, जापानी, कोरियाली, इटालियन, पोर्तुगाली (ब्राजिल) र स्पेनिश भाषा थपिएको छ।
हाल एन्ड्रोइड प्रयोगकर्तमाझ मात्र उपलब्ध नयाँ भाषा केही समयमा आइओएस प्रयोगकर्तामाझ पनि उपलब्ध हुने निर्माण कम्पनी जनाएको छ।
क्लबहाउसमा प्रयोगकर्ताहरू कुराकानी तथा च्याट पनि गर्न सक्छन्। क्लबहाउसले प्रयोगकर्ताहरूलाई पहिला गरिएका कुराकानी रिप्ले गरेर समेत सुन्न फिचर परीक्षण गरिरहेको छ।
परीक्षण पश्चात् यो फिचर सबै प्रयोगकर्तामाझ उपलब्ध हुनेछ।
के हो क्लबहाउस?
यो एप अल्फा एक्सप्लोरेसन कम्पनीका पल डेभिसन र रोहन सेथले मिलेर बनाएका हुन्। सुरूआतमा संस्थापकहरूले पोडकास्ट बनाउने उद्देश्यले यसको नाम टक शो राखेका थिए। पछि यसलाई पुनः नामकरण गरेर क्लबहाउस राखिएको हो।
क्लबहाउस यस्तो प्लेटफर्म हो जहाँ प्रयोगकर्ताले बोलेर र सुनेर अन्तर्क्रिया गर्न सक्छन्। आमन्त्रित व्यक्तिहरू मात्र जोडिन मिल्ने यो भ्वाइस च्याट एप सन् २०२० मा नै बजार भित्रिएको हो।
प्रारम्भिक दिनमा क्लबहाउस आइओएस प्रयोगकर्ताहरूमाझ मात्र सीमित थियो। सन् २०२१ मा एन्ड्रोइड प्रयोगकर्ताहरूमाझ पनि पुगेपछि यसले लोकप्रियता चुलिएको थियो।
यसको मुख्य फिचर भनेको भर्चुअल रूम हो। यी रूमहरू तीन प्रकारका हुन्छन्। ओपन रूम, क्लोज्ड रूम र सोसियल रूम।
ओपन रूममा जो कोही प्रयोगकर्ता जोडिन मिल्छ। सोसियल रूममा भने वक्ताका फलोअरहरू मात्र जोडिन मिल्छ। त्यसैगरी, क्लोज्ड रूम वा प्राइभेट रूममा भने आमन्त्रित प्रयोगकर्ताहरू मात्रै जोडिन मिल्छ।
यी रूममा वक्ता, श्रोता र आयोजक हुन्छन्। रूम निर्माण गर्ने व्यक्ति आयोजक हुन्छ। आयोजकले आफ्नो श्रोतालाई वक्ता बनाउन, म्युट गरिदिन, अनम्युट गरिदिन र वक्तालाई निस्कासन गर्न मिल्ने सुविधा हुन्छ। श्रोता वक्ता हुन चाहेमा हात उठाउने बटन थिची आयोजकलाई जानकारी गराउन सक्छ।
त्यसैगरी, ‘लिभ क्वाइट्ली’ भन्ने बटन थिचेर श्रोता सो रूमबाट निस्किन पनि सक्छन्।
क्लबहाउसको निर्देशिका अनुसार यो एपभित्र हुने कुराकानी रेकर्ड गर्न, पुनः उत्पादन गर्न, बिना अनुमति सम्प्रेषण गर्न निषेध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।