काठमाडौं- अमेरिकाले विवादास्पद पेगासस स्पाइवेयर निर्माता एनएसओ समूहलाई कालोसूचीमा समावेश गरेको छ।
अमेरिकाले एनएसओ समूहलाई कालोसूचीमा राख्दै उक्त कम्पनीसँग कुनै पनि प्रकारको व्यापारिक सम्झौता गर्न प्रतिबन्ध लगाएको छ।
पत्रकार, सामाजिक कार्यकर्ता, राजनीतिज्ञ, मन्त्री र सरकारी अधिकारीहरूको फोनमा जासुसी गर्न पेगासस सफ्टवेयर प्रयोग गरिएको अमेरिकाले जनाएको छ।
अमेरिकी अधिकारीहरूले एनएसओ समूह र अर्को इजरायली कम्पनी क्यान्डिरुले अमेरिकाको राष्ट्रिय सुरक्षा र विदेश नीतिको हितमा पूर्वाग्रही कार्य गरेको आरोप लगाएका छन्।
एनएसओ समूहले यसअघि यो स्पाइवेयर अपराधी र आतंकवादीलाई पक्रन डिजाइन गरिएको र कम्पनीले सरकारलाई मात्रै बेच्ने बताएको थियो।
एनएसओ समूहले आफ्नो प्रविधिले आतंकवाद र अपराध रोक्नका साथै अमेरिकी राष्ट्रिय सुरक्षा कायम राख्न मद्दत गरेको दाबी गरेको छ।
एनएसओले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘हामीले विश्वको सबैभन्दा कडा नियम पालना गरेका छौं र हामी अमेरिकी मूल्यमान्यतामा आधारित मानव अधिकारको पनि कडाईका साथ पालना गर्छौं। जसप्रति हामी गहिरो प्रतिबद्ध छौं भन्ने पूर्ण जानकारी गराउन चाहन्छौं। फलस्वरूप हामीले हाम्रा उत्पादनहरू दुरुपयोग गर्ने सरकारी एजेन्सीहरूसँग सम्झौता खारेज गरिसकेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।