काठमाडौं- चर्चित सामाजिक सञ्जाल फेसबुकले आफ्नो ‘कर्पोरेट’ नाम परिवर्तन गरी ‘रिब्रान्डिङ’ गर्ने भएको छ। ‘मेटाभर्स परियोजना’लाई दर्शाउने गरी कम्पनीले आउँदो साता नाम परिवर्तन गर्न लागेको हो।
कम्पनीका सीईओ मार्क जुकरबर्गले आउँदो २८ तारिखमा आयोजना हुने वार्षिक कार्यक्रम ‘कनेक्ट कन्फ्रेन्स’ मा कम्पनीको नाम परिवर्तन गर्ने गरी छलफल अघि बढाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला कम्पनीले आफ्नो कम्पनी नाम बदल्न लागेको छ।
त्योसँगै फेसबुक कम्पनीले आफ्ना सोसल नेटवर्किङ प्लाटफर्महरु र अग्मेन्टेड रियालिटी तथा ‘मेटाभर्स’लगायतका प्रोजेक्टहरुको बीचमा विभाजनको रेखा खिच्नेछ।
सामाजिक सञ्जालले ‘कर्पोरेट’ नाम परिवर्तन गरी ‘रिब्रान्डिङ’ गर्नु कुनै नौलो कुरा होइन्। सन् २०१५ मा गुगलले आफ्नो मुख्यको कम्पनीको नाम ‘अल्फाबेट’ बनाएको थियो। त्यस्तै स्नापच्याटले सन् २०१६ मा आफूलाई ‘स्नाप इंक’को रुपमा ‘रिब्रान्डिङ’ गरेको थियो।
फेसबुकले पनि सोहीअनुसार फेसबुक, ह्वाट्सएप, इन्स्टाग्रामलगायतका अन्य कम्पनीलाई समेट्ने गरी मुख्य कम्पनी खडा गर्नसक्ने अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन्।
हालसम्म फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम यी सबै कम्पनी ‘फेसबुक ईंक’अन्तर्गत सञ्चालित छन्।
मंगलबार फेसबुकले आफ्नो कम्पनी विकास गर्न युरोपेली युनियनमा करिब १० हजार जागिरको पद खुलाउने घोषणा गरेको थियो। यस महिनाको सुरुवातमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टाको लागि बन्द भएको थियो।
‘मेटाभर्स’ इन्टरनेटको ‘भर्चुअल रियालिटी भर्सन’ हो। जसलाई ‘टेक जायन्ट’हरुले इन्टरनेटको भविष्यको संज्ञा दिने गरेका छन्।
फेसबुकका सीईओ जुकरबर्गले सिलिकन भ्यालीमा ‘मेटाभर्स आइडिया’को नेतृत्व गरिरहेका छन्। ‘मेटाभर्स’ले भौतिक संसार र डिजिटल दुँनियाबीच रहेको रेखालाई अझ पातलो बनाउने विश्वास कम्पनीले गरेको छ।
यो प्रविधिले इन्टरनेटको सहायताले हजारौं किलोमिटरको दूरीमा रहेका भौतिक शरीरलाई नजिक्याउन सहज हुने अपेक्षा गरिएको छ।
फेसबुकका अनुसार ‘मेटाभर्स’ निर्माणले क्रियटिभ, सामाजिक र आर्थिक अवसरको पहुँच निर्माणको सम्भावना रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।