काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसिप अन्तर्गत भोलि हुने भारतविरुद्धको फाइनल खेल जित्दै इतिहास रच्ने बताएका छन्। शुक्रबार प्री-म्याच कन्फरेन्समा बोल्दै उनले जितका लागि सबै थोक दिने बताए।
उनले फाइनल खेलमा गोर्खाली शैली अपनाउनेसमेत बताए। 'फाइनलका लागि हामी पूर्ण तयार छौं। हामी गोर्खाली हौं, जितका लागि भोलि गोर्खाली शैलीमा खेल्छौं,' उनले भने।
सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै कप्तान चेम्जोङले विगतको नतिजालाई भुलेर भोलि उपाधिका लागि खेल्ने बताए। 'विगत विगत भइसक्यो, हामी विगतलाई सम्झँदैनौं,' उनले भने, 'हामीले मात्रै भोलिको खेललाई ध्यान दिएका छौं, त्यो मैदानमा देखाउँछौं।'
उनले माल्दिभ्स आफ्नो दोस्रो घर भएको बताउँदै त्यहाँको दर्शकको साथ पाउने बताए। 'माल्दिभ्स मेरो दोस्रो घर हो। टीसी स्पोर्ट्स क्लबबाट खेलिसकेको छु, त्यसैले यहाँका दर्शकहरुमाझ म परिचित छु। उनीहरुले मैदानमा आएर हौसला दिने विश्वास छ,' चेम्जोङले भने।
फाइनल खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ। नेपाल साफ च्याम्पियनसिपको २८ वर्षे इतिहासमा पहिलोपटक फाइनलमा पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।