काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सबैलाई संयमित रहन आग्रह गरेका छन्।
साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा आयोजक माल्दिभ्सविरुद्ध १-० गोलको जित हात पारेसँगै प्रशिक्षक अल्मुताइरीले पोस्ट म्याच कन्फरेन्समा यो खेलको सुरुवात मात्र भएको भन्दै अहिले नै हौसिन आवश्यक नरहेको बताएका हुन्।
‘हामीले मिहिनेत गरेका थियौं। हामीले माल्दिभ्सको बारेमा राम्रो अध्ययन गरेका थियौं। उनीहरुलाई खुलेर खेल्न अवसर दिएनौं। त्यसैले जितको हकदार थियौं,’ उनले भने, ‘तर, अहिल्यै उपाधि जितिसकेका छैनौं। सबै संयमित हुन जरुरी छ। नेपालमा रहेका सबै खेलप्रेमीलाई पनि शान्त रहन आग्रह गर्दछु।’
सबै कुरा बिर्सेर अब अर्को खेलमा ध्यान हुने पनि उनले बताए। उनले योजना अनुसार नै माल्दिभ्सलाई खेलमा खुलेर खेल्न नदिएको समेत बताए।
‘माल्दिभ्सका खेलाडीले सेट पिसमा केही अवसर सिर्जना गरेका थिए। तर, ओपन प्लेमा हामीले कुनै अवसर दिएनौं। हामीले उनीहरुलाई घरेलु मैदान र अवस्थाको दबाब महसुस गराउने योजना बनाएका थियौं। जुन सफल भयो,’ उनले भने।
यद्यपि, नेपाली खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्न नसकेको उनले स्वीकारे। ‘गोलरहित बराबरीमा रहनुले माल्दिभ्स दबाबमा पारे थियो। यस्तो बेला हामीले पाएका केही अवसर सदुपयोग गर्न सकेनौं,’ उनले भने।
उनले खेलको हिरो मनिष डाँगी रहेको बताए। ८६औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले काउन्टर अट्याकमा बललाई अगाडि बढाउँदै तीन डिफेन्डरलाई छक्काएर वन भर्सेस वनको स्थितिमा गोल गरेका थिए।
मनिष दोस्रो हाफको ६९औं मिनेटमा नवयुगको स्थानमा मैदान प्रवेश गरेका थिए। ‘मनिष डाँगीले ठूलो रंगशालामा खेलेको यो पहिलो खेल हो। आजको हाम्रो हिरो मनिष रहे,’ उनले भने।
उनले आफूले बनाएको टोलीमा सम्भावना बोकेका अरु थुप्रै खेलाडी रहेको बताउँदै उनीहरुलाई तयार पार्न समय चाहिएको बताए।
‘मनिषबाहेक धेरै सम्भावना बोकेका आयुष घलान अर्का युवा खेलाडी हुन्। यो टोलीलाई अझै समय चाहिन्छ। निकै राम्रो भविष्य देखेको छु,’ उनले भने।
अलमुताइरीले ओमानविरुद्ध मैत्रीपूर्ण खेलको हारले आफू पनि निराश रहेको बताए। ‘नेपालका समर्थक ओमानविरुद्ध ७-२ ले खेल्दा निकै निराश थिए। तर, मैले नेपालमा पनि भनेको थिएँ, उमेर मात्र अंक हो। कुवेत र सिरियामा पनि युवा खेलाडीले खेलेका छन्। तर आफूभन्दा बलियो टोलीसँग खेल्दा निकै अनुभव बटुल्न सकिन्छ,’ उनले भने।
यता, खेलको निर्णायक बनेका मनिषले प्रशिक्षक अल्मुताइरीले विश्वास गरेर मैदान पठाएको भन्दै आभार व्यक्त गरे।
‘प्रशिक्षकले तिमीले गोल गर्छौं भनेर विश्वास गरेर मैदान पठाउनु भएको थियो। म माथि विश्वास गर्नु भएकोमा प्रशिक्षकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु,’ उनले भने।
उनले टिमले सहयोग गरेकै कारण गोल निस्केको भन्दै सबैलाई धन्यवाद दिए। ‘टिमले सपोर्ट गरिरहनु भएको थियो। प्रशिक्षक निर्देशनमा हामी गइरहेका थियौं। लक्कीली बल मेरो खुट्टामा आयो र गोल पनि भयो। त्यसका लागि टिम, प्रशिक्षक र अफिसियललाई धन्यवाद,’ उनले भने।
नेपाल र माल्दिभ्सबीच यसअघि १६ पटक भेट भएको थियो। त्यसमध्ये ८ खेलमा माल्दिभ्सले जित हासिल गर्दा नेपालले ४ खेलमा जित हात पारेको थियो। यस्तै, ४ खेल भने बराबरीमा टुंगिएका थियो।
पछिल्लो पटक नेपालमा १९९९ मा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद ९साग० यता नेपालले माल्दिभ्समाथि जित निकाल्न सकेको थिएन। त्यति बेला नेपालले २–१ ले जितेको थियो ।
त्यसयता भएका ७ खेलमा नेपालले जित हासिल गर्न सकेको थिएन। यसबीचमा ५ खेलमा हार बेहोरेको नेपालले २ खेलमा माल्दिभसलाई बराबरीमा रोकेको थियो।
पछिल्लो पटक नेपाल र माल्दिभ्सले २०१८ को साफ च्याम्पियनसिपमा खेलेका थिए। त्यसबेला नेपाललाई सेमिफाइनलमा ३-० ले हराउँदै माल्दिभ्स फाइनल पुगेको थियो। माल्दिभ्सले भारतलाई हराउँदै उपाधि जितेको थियो।
नेपालले अब सोमबार श्रीलंकाको सामना गर्नेछ। खेल नेपाली समयअनुसार रातको ९:४५ बजे हुनेछ। प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।