काठमाडौं- कम्युनिस्ट पार्टी अफ इण्डिया (सीपीआई) नेता तथा जवाहरलाल नेहरू विश्वविद्यालय छात्रसंघका पूर्व अध्यक्ष कन्हैया कुमारले सोमबार दिल्लीमा पार्टीका नेताहरुलाई लामो समय कुराएका छन्।
भारतीय पत्रिका 'हिन्दुस्तान टाइम्स' को एक समाचार अनुसार कन्हैया कांग्रेस पार्टीमा प्रवेश गर्ने अनुमानको खण्डन गर्नका लागि सीपीआईले कन्हैयालाई पत्रकार सम्मेलन गर्न भनेको थियो।
२८ सेप्टेम्बर अर्थात् आज कन्हैया कुमार गुजरातका स्वतन्त्र सांसद जिग्नेश मेवाणीका साथ कांग्रेसमा सहभागी हुनसक्छन्। जसका कारण सीपीआई र कन्हैयाको बीचमा बेचैनी बढेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
पत्रिकासँग सीपीआई नेताहरुले सोमबार भने अनुसार पार्टी महासचिव डी राजाले कन्हैया कुमारलाई एक प्रेस कन्फरेन्स गरेर कांग्रेसमा जाने हल्लाको 'खण्डन' गर्न भनेका थिए।
दिल्लीमा सोमबार सीपीआई मुख्यालयको अजय भवनमा पार्टीका नेता उनको पर्खाइमा रहेका थिए।
गत शनिबार गुजरातका विधायक र दलित नेता मेवाणीले आफू र कन्हैया २८ सेप्टेम्बर(आज) कांग्रेसमा प्रवेश गर्न लागेको बताएका थिए।
डी राजालाई यस बारे प्रश्न गर्दा आफूहरुले यसलाई हेरिरहेको बताए। कन्हैया सीपीआईसँग निराश रहेको बताइएको छ। कन्हैयाले पार्टीमा महत्वपूर्ण भूमिका निभाउन चाहेको भएपनि त्यस्तो नभएको उनको निष्कर्ष थिए।
आइतबार बिहारमा सीपीआई नेताहरुको एक समूह कन्हैयासँग पार्टी मुख्यालयमा भेटेका थिए र उनीहरुले कन्हैयालाई पार्टीमै बस्न भनेका थिए।
उनीसँगको कुराकानीपछि एक नेताले भने, "कुराकानीका क्रममा कन्हैयाले पार्टीको राज्य प्रमुख र पार्टीको शीर्ष चुनाव समितिको चेयरम्यान बनाउन भनेका थिए। जसले चुनावका लागि उम्मेदवार तय गर्छ। "
अर्का एक नेताले भने, "कुनै पनि पार्टीमा कोही पनि यस्तो माग गर्न सक्दैन। यो त पार्टीले गर्ने फैसला हो। जहाँ पार्टीले जिम्मेवारी दिन्छ। यदी उनको यस्तो इच्छा भए यसबारे शीर्ष नेताहरुलाई बताउन आवश्यक हुन्छ।"
अब सबैको नजर २ अक्टोबरमा हुन लागेको पार्टीको राष्ट्रिय कार्यकारिणीको बैठकमा टिकेको छ। यस बैठकमा कयौं मुद्दाका साथ-साथ कन्हैया कुमारको मुद्दाबारे पनि चर्चा हुन सक्छ।
कन्हैया कुमारले २०१९मा लोकसभाको आम चुनावमा बेगूसराय लोकसभा सीपीआई उम्मेदवारको रुपमा लडेका थिए। तर, उनी बीजेपी नेता र केन्द्रीय मन्त्री गिरिराज सिंहसँग पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।