पेरिस। विद्यालयका लागि थप बजेट र स्रोतसाधनको माग गर्दै फ्रान्सभर विद्यार्थीको आन्दोलन चर्किएको छ। मंगलबार देशभर भएका प्रदर्शनमा २ लाख ६६ हजारभन्दा बढी मानिस सहभागी भएको फ्रान्सको गृह मन्त्रालयले जनाएको छ।
राजधानी पेरिससहित मार्से, स्ट्रासबर्ग, लिललगायतका सहरमा विद्यार्थी, अभिभावक र समर्थकहरू सडकमा उत्रिएका थिए। प्रदर्शनका क्रममा केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ।
पेरिसमा लामो समयसम्म शान्तिपूर्ण रूपमा अघि बढेको प्रदर्शनको अन्त्यतिर केही समूह र दंगा नियन्त्रणमा खटिएका प्रहरीबीच झडप भएपछि प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो। गृह मन्त्रालयका अनुसार मंगलबार मात्रै देशभर झन्डै ५०० जना पक्राउ परेका छन्।
प्रदर्शनको मुख्य माग विद्यालयमा पर्याप्त बजेट, शिक्षक तथा कर्मचारीको व्यवस्था र जीर्ण भौतिक संरचनाको सुधार रहेको छ। विद्यार्थीहरूले कतिपय विद्यालयमा डेस्क–कुर्सीको अभाव, गर्मीमा कक्षाकोठा अत्यधिक तात्ने, केही विद्यालयमा मुसाको समस्या तथा शिक्षक अभाव रहेको गुनासो गरेका छन्।
पेरिसको एक विद्यालयका विद्यार्थीले ‘युवाहरू भविष्य हुन् भने उनीहरूको कुरा सुन’ भन्ने सन्देश लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए।
दुई सातादेखि विद्यालय बन्द र कक्षा बहिष्कार
फ्रान्समा विद्यार्थी आन्दोलन दुई साताभन्दा बढी समयदेखि जारी छ। विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी तथा कक्षा बहिष्कार गर्दै आएका छन्।
शिक्षा मन्त्रालयका अनुसार मंगलबार मात्रै ८९१ विद्यालयमा कक्षा पूर्ण वा आंशिक रूपमा प्रभावित भएको थियो। प्रदर्शनका कारण केही विद्यालय बन्दसमेत गरिएका छन्।
आन्दोलन बढ्दै गएपछि सरकारले विद्यार्थीका गुनासा र माग संकलन गर्न अनलाइन पोर्टलसमेत सञ्चालनमा ल्याएको छ। विद्यार्थीले विद्यालयमा देखिएका समस्या र आफूले चाहेको सुधारबारे आफ्नो पहिचान नखुलाई विवरण पठाउन सक्ने व्यवस्था गरिएको छ।
प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्यास तथा दंगा नियन्त्रणका उपकरण प्रयोग गरेपछि सरकारमाथि आलोचना बढेको छ। विद्यार्थीमाथि प्रहरीको बल प्रयोग अत्यधिक भएको भन्दै अभिभावक, शिक्षक तथा केही राजनीतिक समूहले प्रश्न उठाएका छन्।
गृहमन्त्री लरेन्ट नुनेजले भने अधिकांश घटनामा प्रहरीको प्रतिक्रिया उचित रहेको दाबी गरेका छन्। उनका अनुसार केही प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले विद्यार्थीका गुनासा सुन्नुपर्ने बताएका छन्। संसद्मा बोल्दै उनले विद्यालयमा देखिएको हिंसाका घटनाको विरोध गरेका छन् भने प्रहरी कारबाहीका क्रममा भएका कुनै पनि दुर्घटना भए त्यसको छानबिन गरिने बताएका छन्।
यस आन्दोलनका क्रममा प्रहरी कारबाहीबाट गम्भीर घाइते भएका घटनासमेत सार्वजनिक भएका छन्। पछिल्लो घटनामा १५ वर्षीय एक किशोर प्रहरीको स्टन ग्रिनेडसँग सम्बन्धित घटनामा हात गुमाएको बताइएको छ। गृह मन्त्री नुनेजका अनुसार प्रदर्शनका क्रममा ७१५ प्रहरीसमेत घाइते भएका छन्।
विद्यार्थीको मागमा अभिभावक तथा विभिन्न विद्यार्थी संगठनले पनि समर्थन जनाएका छन्। लिलमा प्रदर्शनमा सहभागी एक वयस्क प्रदर्शनकारीले १७ वर्षका विद्यार्थीलाई आफ्ना समस्याबारे बोल्ने अधिकार रहेको र उनीहरूको आवाज सुन्नुपर्ने बताएका थिए।
विद्यार्थी संगठनहरूले सरकारलाई तत्काल शिक्षा क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन्। विद्यार्थी संगठनकी अध्यक्ष सुज्यान निडजामले माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएकी छन्।
फ्रान्समा शिक्षा क्षेत्रको समस्यासँगै महँगी, सार्वजनिक खर्चमा कटौती, गरिबी तथा आर्थिक असमानताजस्ता विषयले पनि असन्तुष्टि बढाएको बताइएको छ। यसैबीच छिमेकी राष्ट्र बेल्जियममा समेत विद्यार्थी प्रदर्शन भएको छ। बेल्जियमको लिज सहरमा मंगलबार ३० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् भने केही प्रहरी घाइते भएका छन्। ब्रसेल्सलगायत अन्य सहरमा पनि साना प्रदर्शन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।