दिल्ली- केन्द्र सरकारले ल्याएको तीन नयाँ कृषि कानूनविरुद्ध आन्दोलन गरिरहेका किसानहरुले गरेको भारत बन्दको प्रभाव दिल्ली र दिल्ली वरपरका राज्यहरुमा परेको थियो।
४० भन्दा बढी किसान संगठनहरुले सोमबार बिहान ६ देखि दिउँसो ४ बजेसम्म बन्दको आह्वान गरेको हुन्। कार्यालय समयमा गरिएको बन्दको कारण दिल्लीसहित मुख्य सहरमा लामो समय ट्राफिक जाम भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
भारत बन्दको कारण गुरुग्राम–दिल्ली सीमामा एक विशाल जाम थियो। यसको मुख्य कारण दिल्ली प्रहरी र अर्धसैनिक बलको जाँच रहेको बताइएको छ।
यता, यातायात दिल्ली र नोएडा जोड्ने डिएनडी मार्गमा प्रभावित भएको छ। दिल्ली प्रहरीले गाजीपुर सीमामा यात्रा नगर्न जनतालाई सूचना नै जारी गरेको थियो।
गाजीपुर सीमा नजिकै दिल्ली–मेरठ एक्सप्रेसवे बन्द गरिएको थियो। जसको कारण दुवैतर्फ जाम रहेको थियो। गाजियाबाद प्रहरीले गाजियाबाद र निजामुद्दीन जोड्ने राजमार्ग बन्द गरेको थियो।
सवारी साधनको चाप अत्याधिक हुँदा सडकलाई ओभरलोड परेको पनि बताइएको छ। यस्तै, हरियाणाको बहादुरगढ स्टेशनमा किसानहरुले रेलवे लाइनमा बसेर प्रदर्शन गरेका छन्। उत्तरी रेलवेले दिल्ली, अम्बाला र फिरोजपुर डिभिजनमा रेलको आवागमन प्रभावित भएको बताएको छ ।
रेलवेका अनुसार प्रदर्शनकारीले दिल्ली डिभिजनका २० भन्दा बढी ठाउँमा रेल रोकेका थिए। अम्बाला र फिरोजपुर डिभिजनमा करीव २५ ट्रेनहरु प्रभावित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।