काठमाडौं- तालिबानले आफ्ना लडाकूहरूलाई अफगानिस्तानका सबै सरकारी अधिकारीहरूलाई दिइएको आम माफीको सम्मान गर्न आग्रह गरेको छ।
अफगानिस्तानको अन्तरिम सरकारका रक्षा मन्त्री मुल्लाह मोहम्मद याकोबले आफ्ना लडाकूहरूलाई सामान्य आममाफीको घोषणा गरिएको र कसैले पनि स्वेच्छाचारी कार्यद्वारा इस्लामिक इमिरेट अफ अफगानिस्तान (आईइए) सरकारको बदनाम नगर्न आग्रह गरेका हुन्।
केही तालिबान लडाकूहरू रातिसम्म अघिल्लो सरकारका अधिकारीका घरमा पसेर उनीहरुको हत्या र अपहरण गर्दै आएका बिषयलाई सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
तर, रक्षा मन्त्रीले आम माफीलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न र जनतालाई दुव्र्यबहार नगर्न आग्रह गरेका छन्।
याकोबले जारी गरेको वक्तव्यमा विभिन्न प्रान्तहरूमा केही तालिबान सदस्यहरूले प्रतिशोध लिएको देखिएको र अघिल्लो सरकारका लागि काम गरेका व्यक्तिहरूको हत्या गरेको उल्लेख गरिएको छ।
विपक्षी, कर्मचारी प्रशासन तथा अफगान नागरिकमाथि कारबाही गर्ने नीति अफगानिस्तानको नरहेको बताइएको छ।
तालिबान लडाकूहरूलाई लक्षित गरिएको सम्बोधनमा उनले भने,‘मानिसहरूसँग राम्रो व्यवहार गर्नुहोस्। आफ्नो मनोमानी कार्यद्वारा अफगानिस्तानको बदनाम नगर्नुहोस्। अनावश्यक फोटो र भिडियोहरू लिन बन्द गर्नुहोस् र आवश्यक नभएसम्म सरकारी कार्यालयमा प्रवेश नगर्नुहोस्।’
तालिबानका केही कमान्डरहरूले अफगान भूमिको विरोधमा रहेका आफ्नो दर्जा विस्तार गर्न गलत मानिसहरूलाई भर्ती गरेका भन्ने रिपोर्ट आएको समेत उनले बताएका छन्। यदि आरोप सही ठहरिएमा दोषीहरूलाई सजाय दिइने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।