काठमाडौं– सोमबार बिहानैदेखि परेको पानीले काठमाडौंका अधिकांश भूभाग जलमग्न बनेको छ। काठमाडौं उपत्यकामा आज यो वर्षकै सर्वाधिक १०५ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
भारी वर्षा भएसँगै बागमतीलगायत नदीमा जल सतह बढेको छ। नदीछेउका बस्तीहरूमा डुबान भएको छ।
बल्खुस्थित तरकारी बजारमा पानी पसेको छ र बागमती करिडोरको बाटोमा पानी डुबान भएको छ।
यसैबीच, काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेको प्रहरीले जनाएको छ। नदी तटीय क्षेत्रबाट एक सय ३८ जनालाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको प्रहरीको भनाइ छ।
गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन्। ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।