प्युठान– जिल्ला कारागार प्यूठानमा कैद भुक्तान गरिरहेका २७ वर्षीय ओमबहादुर घर्ती मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गौमुखी गाउँपालिका–३ घर भएका घर्ती आइतबार दिउँसो करिब २ बजे कारागारको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए।
नुहाउन बाथरुम गएका घर्ती लामो समयसम्म बाहिर ननिस्किएपछि पानी नाइके र अन्य कैदीबन्दीले ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए। त्यसपछि उनलाई तत्काल जिल्ला अस्पताल बिजुवार पुर्याइएकोमा दिउँसो करिब ३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार घर्ती हाडनाता जबर्जस्ती करणी मुद्दामा १६ वर्ष कैद सजाय भई पाँच वर्ष कैद भुक्तान गरिसकेका कैदी थिए।
घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय प्यूठानबाट प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीको कमान्डमा घटनास्थल अनुसन्धानसम्बन्धी टोलीसहित पाँच जनाको टोली खटिएको छ। मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइसकिएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।