



काठमाडौं– मकवानपुरबाट रौतहटको गौरतर्फ गइरहेको गाडी आइतबार दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिका–१, बाँदरेभीरस्थित हेटौँडा–भैँसे सडकखण्डमा भएको दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार यात्रुवाहक माइक्रोबस सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँतिर नालामा खसेको छ ।
घाइते रौतहट दुर्गाभगवती गाउँपालिका–१ का ५० वर्षीय हरि साहको मुखमा चोट लागेको छ । उनलाई उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल ‘रिफर’ गरिएको छ ।
दुर्घटनामा सोही स्थानका ३२ वर्षीय राजेश साह, ३४ वर्षीय सर्फे आलम, २६ वर्षीया चन्दाकुमारी साह, २३ वर्षीया शिवाकुमारी साह, पाँच वर्षीय आर्यन साह सामान्य घाइते भएका छन् । हरि साहका नातिनी शान्तिकुमारी र नाति शिवान्स पनि सामान्य अवस्थामा रहेका प्रहरीले जनाएको छ ।
रौतहटकै चन्द्रपुर नगरपालिका–११ की २४ वर्षीया सविताकुमारी चौधरी, यमुनामाई गाउँपालिका–४ का १९ वर्षीय राहुल ठाकुर र धमनीमाई गाउँपालिका–४ का १६ वर्षीय विजयकुमार ठाकुर सामान्य घाइते भएका छन् ।
घाइते सबैलाई उपचारका निम्ति हेटौँडा अस्पताल पठाइएको थियो । गम्भीर घाइते हरि साहमात्र चितवन रिफर गरिएको छ । साथमा उनका छोरीहरू चन्दाकुमारी र शिवाकुमारी तथा नाति आर्यन र नातिनी शान्तिकुमारी पनि चितवननै गएका छन् ।
दुर्घटनामा परेको गाडीका चालक भने फरार छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।