सुनसरी– सुनसरीको इनरुवाबाट प्रहरीले ९१५ किलोभन्दा बढी गाँजासहित चार जनालाई पक्राउ गरेको छ।
आइतबार दिउँसो इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित बुलबुल यादवको घरमा खानतलासी गर्दा ९१५ किलो ६८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
गाँजा बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। चाडबाडका बेला गाँजा भारतीय सीमापारि लैजाने तयारी भइरहेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
पक्राउ पर्नेमा घरधनी ३६ वर्षीय बुलबुल यादवसहित सन्तोष यादव (२३), आशिष यादव (३०) र कुन्दन यादव (२२) छन्।
प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको आशंकामा एउटा मोटरसाइकलसमेत बरामद गरेको छ। पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।