काठमाडौं - इनरुवाको बलाहामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
मङ्गलबार साँझ करिब ५ बजे सुनसरीको इनरुवा–५ को भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र. १–०२–०५५ प १२९८ नम्बरको स्कुटर तथा साइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीन जना र साइकलयात्री घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये स्कुटरमा पछाडि सवार इनरुवा नगरपालिका–९ निवासी सन्जु कुमार सरदारकी सात वर्षीया छोरी रिदिमा सरदारको उपचारका क्रममा मृत्यु भएको हो । चिकित्सकले उनलाई साँझ ५ः४५ बजे मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक इनरुवा–७ का ३० वर्षीय सुजन चौधरी, मोटरसाइकल चालक दुहबी नगरपालिका–३ का २२ वर्षीय सागर सरदार, मोटरसाइकलमा पछाडि सवार २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार तथा साइकलयात्री इनरुवा–५ बलाहाका ४७ वर्षीय इन्द्रजित मण्डल घाइते भएका छन् ।
उनीहरुको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।