काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रस्तावित नयाँदिल्ली भ्रमणबारे नेपालसँग छलफल जारी रहेको भारतले जनाएको छ । भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका सबै आयामबारे समीक्षा गरिने पनि भारतले स्पष्ट पारेको छ ।
भारतले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो दिइसकेको छ ।
‘भ्रमणका विषयमा दुवै पक्षबीच छलफल जारी छ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार नियमित पत्रकार सम्मेलनमा भने ।
नेपाल–भारत सम्बन्धलाई व्यापक र विशेष साझेदारीका रूपमा व्याख्या गर्दै जैसवालले बालेनको भ्रमणका क्रममा आपसी हितका सबै विषयमा छलफल हुने बताए ।
‘यो निकै व्यापक र विशेष साझेदारी हो । आपसी हितका सबै विषयमा छलफल हुनेछ,’ उनले थपे ।
प्रधानमन्त्री बालेनको पहिलो औपचारिक द्विपक्षीय भारत भ्रमणको तयारी भइरहेको छ । यससँगै नेपाल र भारतबीच कूटनीतिक भेटघाट पनि तीव्र बनेको छ । भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली समकक्षी अमृतबहादुर रायको निमन्त्रणामा कात्तिक १८ र १९ गते काठमाडौं भ्रमण गरेका थिए । भ्रमणका क्रममा उनले प्रधानमन्त्री बालेनसँग भेट गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा हस्तान्तरण गरेका थिए ।
भेटमा व्यापार, ऊर्जा, जलविद्युत्, सम्पर्क सञ्जाल, विकास साझेदारी र सीमा व्यवस्थापनमा सहकार्यका विषयमा कुराकानी भएको थियो ।
प्रधानमन्त्री शाहको भ्रमण मंसिर दोस्रो साता हुने बताइए पनि औपचारिक कार्यतालिका सार्वजनिक भएको छैन ।
भ्रमणका क्रममा बालेन र भारतीय समकक्षी मोदीबीच हुने वार्तामा केही महत्त्वपूर्ण विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ । भोटेकोशी–रसुवागढी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपछि पुनर्निर्माण र पुनःस्थापनाका लागि भारतसँग करिब २ अर्ब अमेरिकी डलर बराबरको सहयोग माग्ने विषय पनि वार्तामा उठ्ने सम्भावना छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।