काठमाडौं । यस वर्षको भाइटीकामा टीका लगाइदिने दिदीबहिनी पूर्व र टीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने धर्मशास्त्रविद्ले बताएका छन्। यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्ने धार्मिक मान्यता रहेको छ।
आज बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्नेछन्। त्यसअघि चन्द्रमा तुला राशिमा रहने भए पनि यही दिशाअनुसार टीका लगाउन सकिने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताएका छन्। उनका अनुसार शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता छ।
भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गर्छन्। त्यसपछि मूल थालीमा लेखिएको अष्टदलमा अष्टचिरञ्जीवी मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामका साथै चित्रगुप्त, यमराज, यमुना, धर्मराज तथा गणपत्यादि वनस्पत्यन्त देवताको पूजा आराधना गरिन्छ।
दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला पहिर्याउने चलन छ।
तिहारमा सप्तरङ्गी टीका लगाउने प्रचलन व्यापक भए पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद् गौतमले बताएका छन्।
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत परिकार दिने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा तथा दक्षिणा दिएर सम्मान प्रकट गर्ने धार्मिक तथा सामाजिक परम्परा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।