काठमाडौं– फ्रान्समा महँगी र शिक्षा प्रणालीविरुद्ध भइरहेका प्रदर्शनलाई रुस, इजरायल र अमेरिकासँग जोडिएका सञ्जालले सामाजिक सञ्जालमार्फत प्रभावित पार्ने प्रयास गरेको युरोपेली सङ्घ (ईयू) को एक आन्तरिक प्रतिवेदनले जनाएको छ।
प्रतिवेदनअनुसार रुससँग जोडिएका नेटवर्कले आप्रवासीविरुद्ध घृणा फैलाउने र आतङ्कवादी आक्रमणको झुटो दाबी गरेर मानिसहरूलाई भड्काउने प्रयास गरेका थिए। यस्तै, इजरायली अधिकारी तथा अमेरिकाको ‘मागा’ आन्दोलनसँग सम्बन्धित अकाउन्टले पनि प्रदर्शनबारे गलत सूचना फैलाएका थिए।
फ्रान्सको विदेश मन्त्रालयका अनुसार अक्टोबर १६ देखि १८ सम्म रुस समर्थक समूहका सबैभन्दा बढी हेरिएका १० पोस्ट २८ लाख पटक हेरिएका थिए। मागासँग जोडिएका पोस्ट ४ करोड ९० लाखभन्दा बढी र इजरायली अधिकारी तथा प्रभावशाली व्यक्तिका पोस्ट ३ करोड ५० लाखभन्दा बढी पटक हेरिएका थिए।
यद्यपि, यी सञ्जालले प्रदर्शन सुरु गराएका नभई जारी विरोधको फाइदा उठाएको प्रतिवेदनमा उल्लेख छ।
यसैबीच, प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले श्रमिक सङ्गठनका प्रतिनिधिसँग भेट गरी जनताको क्रयशक्ति र तलबका विषयमा छलफल गरेका छन्। सरकारले न्यूनतम तलब बढाउने विषयमा पनि विचार गरिरहेको छ।
एसीएलईडीका अनुसार सेप्टेम्बर १५ देखि अक्टोबर ३० सम्म युरोपका ३१ देशमा महँगी र शिक्षा प्रणालीविरुद्ध १ हजार ७०० भन्दा बढी प्रदर्शन भएका छन्। फ्रान्सबाट सुरु भएको विरोध स्पेन र इटालीसहितका देशमा फैलिएको छ।
स्पेनमा नोभेम्बर ११ र इटालीमा नोभेम्बर २० का लागि देशव्यापी हडताल घोषणा गरिएको छ। जर्मनी, पोर्चुगल र अल्बानियामा पनि प्रदर्शन चर्किन सक्ने आकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।