एम्स्टर्डम– कृत्रिम बौद्धिकता (एआई) र डेटा सेन्टरको तीव्र विस्तारले वातावरण तथा समाजमा पार्ने असरबारे प्रश्न उठाउँदै युरोपका विभिन्न देशमा विरोध प्रदर्शन चर्किएको छ । नेदरल्यान्ड्सको राजधानी एम्स्टर्डममा शुक्रबार प्रदर्शनकारीले माइक्रोसफ्टको नयाँ डेटा सेन्टर निर्माणस्थलमै प्रवेश गरेर निर्माण रोक्न माग गरेका छन् ।
प्रदर्शनका क्रममा केही आन्दोलनकारी क्रेनमा चढेर आगो बालेका थिए भने केहीको प्रहरीसँग झडप भएको थियो । डच प्रहरीले निषेधित क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरेको आशंकामा १५० देखि २०० जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
‘गेफ टेगेनगास’ नामक विरोध समूहका नाथन टिम्मरले निर्माण रोक्ने उद्देश्यले प्रदर्शनकारीले निर्माणस्थल कब्जा गरेको बताएका छन् । उनका अनुसार डेटा सेन्टरले अत्यधिक ऊर्जा खपत गर्नुका साथै एआई निगरानी, युद्ध र अन्य हानिकारक गतिविधिलाई प्रोत्साहन गर्न सक्ने भएकाले विरोध गरिएको हो ।
प्रदर्शनमा प्यालेस्टाइन समर्थकहरू पनि सहभागी थिए । माइक्रोसफ्टले भने शान्तिपूर्ण रूपमा विचार व्यक्त गर्ने अधिकारको सम्मान गर्ने बताउँदै गैरकानुनी गतिविधि र मानिसको सुरक्षामा जोखिम पुर्याउने कार्य स्वीकार्य नहुने प्रतिक्रिया दिएको छ ।
एम्स्टर्डममा मात्र नभई युरोपका अन्य देशमा पनि डेटा सेन्टर विस्तारविरुद्ध प्रदर्शन भएका छन् । आयोजकका अनुसार आयरल्यान्ड, पोल्यान्ड, डेनमार्क, फिनल्यान्ड, स्पेन, इटाली, नेदरल्यान्ड्स, फ्रान्स र बेलायतसहित १५ देशमा शुक्रबार र शनिबार ‘स्टप डर्टी डेटा सेन्टरिज’ अभियानअन्तर्गत कार्यक्रम आयोजना गरिएको छ ।
जर्मनीको बर्लिनबाहिर रहेको डेटा सेन्टरअगाडि पनि शुक्रबार प्रदर्शन भएको थियो । त्यहाँ करिब एक दर्जन प्रदर्शनकारी भेला भएका थिए । पोल्यान्डमा संसद् भवनअगाडि करिब एक सय जनाले सम्भावित डेटा सेन्टर निर्माणको विरोध गरेका छन् । इटालीको उत्तरी लोम्बार्डी क्षेत्रमा पनि डिजिटल पूर्वाधार विस्तारविरुद्ध प्रदर्शन भइरहेको छ ।
आन्दोलनकारीको मुख्य चासो डेटा सेन्टरले खपत गर्ने ठूलो परिमाणको विद्युत् र पानी हो । सार्वजनिक परामर्श तथा पर्याप्त वातावरणीय अध्ययनबिनै यस्ता संरचना निर्माण भइरहेको उनीहरूको आरोप छ । क्लाउड कम्प्युटिङ र एआईलाई आवश्यक कम्प्युटिङ क्षमता उपलब्ध गराउने उद्देश्यले डेटा सेन्टरमा लगानी तीव्र भइरहेका बेला त्यसको सामाजिक तथा वातावरणीय मूल्यबारे बहस पनि बढेको छ ।
इटालीको मिलानस्थित पियाजा डेला स्कालामा गत अक्टोबर १० मा एक हजारभन्दा बढी मानिस सहभागी भएर प्रदर्शन गरेपछि युरोपमा यो अभियान थप विस्तार भएको हो । प्रदर्शनकारीले नयाँ डेटा सेन्टर परियोजनामा रोक लगाउन र उद्योगको विस्तारलाई नियमन गर्ने राष्ट्रिय रणनीति बनाउन माग गरेका छन् ।
‘स्टप डर्टी डेटा सेन्टरिज डट इयु’ का संयोजक ओवेन एस्प्लेले एआई विस्तारबारे निर्वाचित नेताहरूको उत्साह र सर्वसाधारणको चिन्ताबीच ठूलो अन्तर रहेको बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।