काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सका कप्तान सोमपाल कामी अनौठो तरिकाले आउट भएका छन् । पोखरा एभेन्जर्सविरुद्धको खेलमा सोमबार उनलाई ‘अब्स्ट्रक्टिङ द फिल्ड’ अर्थात् फिल्डिङमा बाधा पुर्याएको अभियोगमा आउट दिइएको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीको इनिङ्स चलिरहँदा १५औँ ओभरमा यो घटना भएको थियो । पोखराका बलर विपिन खत्रीको बलमा सोमपालले ठूलो सट खेल्ने प्रयास गरे । तर बल ब्याटमा लागेर उनको अगाडि खस्यो ।
त्यसपछि पुनः ब्याट घुमाउने क्रममा सोमपालको ब्याटले बलमा छोयो । उनको उक्त गतिविधिपछि पोखराका खेलाडीले अपिल गरे । मैदानी अम्पायरले निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) को सहायता लिएपछि सोमपाललाई आउट करार दिए ।
के भन्छ आईसीसीको नियम ?
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को क्रिकेट नियमावलीको धारा ३७ मा ‘अब्स्ट्रक्टिङ द फिल्ड’ सम्बन्धी व्यवस्था छ । यसअनुसार बल खेलमा रहँदा ब्याटरले जानाजानी आफ्नो बोली वा क्रियाकलापबाट विपक्षी टोलीको फिल्डिङमा अवरोध पुर्याउने वा फिल्डरलाई विचलित पार्ने प्रयास गरेमा उनलाई आउट दिन सकिन्छ ।
तर, बलले दोस्रोपटक ब्याटमा लाग्दैमा ब्याटर स्वतः आउट हुँदैन । नियमको धारा ३४.३ अनुसार आफ्नो विकेट जोगाउने उद्देश्यले ब्याटरले कानुनी रूपमा दोस्रोपटक बल प्रहार गर्न पाउँछ । यस्तो अवस्थामा फिल्डिङमा जानाजानी अवरोध पुर्याइएको ठहर नभएसम्म आउट दिन मिल्दैन ।
सोमपालको घटनामा भने पोखराका खेलाडीको अपिलपछि अम्पायरले उनको क्रियाकलापलाई फिल्डिङमा अवरोध पुर्याएको ठहर गरेका थिए । त्यसैले उनलाई धारा ३७ अनुसार आउट दिइएको हो ।
यस नियमअन्तर्गत आउट हुँदा बलरको नाममा विकेट जोडिँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।