अर्बपति रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टिकले अन्तरिक्ष पर्यटकहरुका लागि टिकटको बिक्री पुनः खुला गरेको छ। भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष यात्रामा लैजाने कम्पनीको रकेटयुक्त सब अर्बिटल जहाजको टिकट बुकिङ खुल्ला भएको जनाएको छ।
टिकट बुकिङका लागि विभिन्न तीन खाले प्याकेज उपलब्ध गराइएको छ। जसमा एउटामात्र सिट रिजर्भ गर्नका लागि ४ लाख ५० हजार डलर तिर्नुपर्नेछ। परिवार वा साथीभाइ सबैले सँगै यात्रा गर्नका लागि पूरै ६ वटा सिट पनि बुकिङ गर्न सकिने जनाइएको छ। तर, त्यसको मूल्य खुलाइएको छैन।
कम्पनीका सीईओ माइकल कोलग्लेजिएरका अनुसार माइक्रो ग्राभिटी अनुसन्धान तथा व्यवसायक अन्तरिक्षयात्री तालिमका लागि भने एउटा सिट रिजर्भ गर्दा ६ लाख डलर तिर्नुपर्नेछ।
भर्जिन ग्यालाक्टिकले अन्तरिक्ष यात्रामा लैजाने भन्दै एक दशक अघिबाटै टिकट बेच्न थालेको थियो। कम्पनीले यसरी टिकट बेचेकालाई पहिलो प्राथमिकतामा राख्रे जनाएको छ। त्यतिबेला साढे २ लाख डलरसम्ममा ६०० जनाले टिकट किनेका बताइएको छ।
अन्तरिक्ष यात्रा समुदायअन्तर्गत १ हजार डलर डिपोजिट राखेका व्यक्तिलाई पनि टिकट बिक्री गरिनेछ। हालसम्म यसरी डिपोजिट राख्नेको संख्या झण्डै १ हजार रहेको बताइएको छ।
यस्तै, स्पेस फर ह्युमानिटी नामक परोपकारी अभियानका लागि आर्थिक सहयोग गरेका मानिसहरु मध्येबाट २ जनालाई गोला प्रथाबाट नि:शुल्क रुपमा अन्तरिक्ष यात्रामा लगिनेछ।
यता, टेस्लाका सीईओ एलन मस्कले पनि अन्तरिक्षमा जान भर्जिन ग्यालाक्टिकमा टिकेट बुक गरेका छन्। मस्क कहिले जान्छन् भन्नेबारे कम्पनीले केही पनि खुलाएको छैन।
दुवैले अन्तरिक्ष पर्यटनमै काम गरिरहँदा पनि ब्रान्सन र मस्क प्रतिस्पर्धीभन्दा पनि एकअर्काको साथी हुन्। सन्डे टाइम्ससँगको अन्तर्वातामा ब्रान्सनले आफू पनि कुनै दिन 'स्पेस एक्स' सीपमा उडान भर्ने बताएका छन्।
यस्तै, भर्जिन ग्यालाक्टिकले शुक्रबार अमेरिकी सेनाको हवाई उड्डयन सुरक्षा नियामकबाट मानिसहरुलाई अन्तरिक्षमा लान अनुमति प्राप्त गरेको रोयटर्सले जनाएको छ।
संघीय उड्डयन प्रशासन (एफएए)बाट अनुमोदन ब्रान्सनको लागि महत्वपूर्ण थियो। उनको अन्तरिक्ष उद्यमले अमेजनडट्कमका संस्थापक जेफ बेजोसको ब्लू ओरिजिन र टेस्ला मालिक मस्कको स्पेसएक्सको विरूद्ध प्रतिस्पर्धामा छ।
बेजोस, ब्रान्सन र मस्कले आफ्ना रकेट स्टार्टअपमा अर्बौं डलर लगानी गरिरहेका छन्। सबैलाई पछि पार्दै अन्तरिक्षमा उड्न लागेका ब्रानसनले सफल परीक्षण गरेको एक महिनापछि ग्रीन सिग्नल पाएका छन्।
भर्जिन ग्यालेक्टिकले न्यू मेक्सिकोको नयाँ घरेलु स्थलबाट मे महिनामा पहिलो मानवयुक्त अन्तरिक्ष उडान पूरा गरिसकेको छ। जसमा यसको स्पेसशिप टू क्राफ्ट आफ्ना दुई पाइलटहरूको साथ सुरक्षित रुपमा रनवेमा अवतरणको भएको थियो।
भर्जिन ग्यालाक्टिकले ५३.४ माइल उचाईसम्म पुगेको थियो। तर, कार्मान लाइन (अन्तरिक्षको सीमा) भने ६२ माइलमा रहेको ब्लु ओरिजिनले बताएको छ।
सन् २०२२ देखि भर्जिन ग्यालाक्टिकले व्यवसायिक उडान सुरु गर्ने कम्पनीको योजना रहेको छ।
यसले कम्पनीको सेयरमा सकारात्मक सुधार गरेको छ। कम्पनीको सेयर एकैदिन ४० प्रतिशतसम्म बढेको जनाइएको छ। जुन यस वर्षको फेब्रुअरीपछि मूल्यमा दोब्बरभन्दा बढीले उच्च हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।