काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालपक्ष तत्काल सरकारमा सहभागी नहुने भएको छ। नेपालपक्षका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा तत्कालै सहभागी नहुने जनाएका छन्।
मंगलबार बसेको नेपालपक्षीय सांसदहरुको बैठकमा सरकारमा सहभागी हुने विषयलाई छलफलको अजेण्डा समेत बनाइएन। उपप्रधानसहित ६ मन्त्रालय लिएर नेपालपक्ष सरकारमा सहभागी हुने चर्चा चलिरहेका बेला मंगलबारको बैठकमा त्यस विषयमा छलफल नै नभएको नेताहरुले जानकारी दिएका छन्।
मंगलबारको बैठकमा सहभागी एमाले सांसद तथा नेपाल पक्षीय नेता राम कुमारी झाँक्रीले पार्टी प्रतिपक्षमा भएकाले सरकारमा जाने कुरा छलफलको विषय नै नबनेको बताइन्।
'सरकारका विषयमा आज अजेन्डा बनाइएन। पार्टी प्रतिपक्षमा भएकाले सरकारमा जान सकिँदैन,' झाँक्रीले भनिन्, 'व्यक्तिगत रूपमा पनि कोही पनि सांसद् मन्त्री बन्न तयार छैनन् । ओखलमा टाउको हाल्न को तयार छ र?'
नेता झाँक्रीले आफूहरु विधिका लागि लडिरहेको र अझै पनि लडिरहने बताइन्।'हामी विधिका लागि लडिरहेका छौं। अझै लड्छौं,' झाँक्रीले भनिन्, 'मन्त्री बन्दा कारबाही गरेर प्रतिशोध साँध्न पाउने हामीले बुझेका छौं। त्यसैले सरकारमा जाने कुरा हुँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।