काठमाडौं– नेपाली कांग्रेसले तल्लो संरचनामा २ तहको मात्रै अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।
केन्द्रीय महाधिवेशनको समय नजिकिएकाले समयाभाव हुने कारण देखाउँदै तल्लो संरचनामा दुई तहको मात्रै अधिवेशन गर्न लागिएको हो।
तल्लो तहमा वडा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मात्रै अधिवेशन गर्ने तयारी भएको एक नेताले जानकारी दिए। केन्द्रीय महाधिवेशन समयमा गर्न समयाभाव रहेकाले तल्लो तहको अधिवेशन छोट्याउन लागिएको उनको भनाइ छ।
वडा, गाउँ/नगर, क्षेत्रीय, प्रतिनिधि सभा र प्रदेश संरचनाका लागि अधिवेशन हुनुपर्ने विधानको व्यवस्था छ।
तर, समयाभाव भन्दै गाउँ/नगर, क्षेत्रीय र प्रदेश अधिवेशन नगरी महाधिवेशन गर्ने तयारी भएको छ।
तल्लो तहको अधिवेशनको प्रक्रिया लामो हुँदा केन्द्रीय महाधिवेशन प्रभावित हुने जनाउँदै छोट्याउन लागिएको ती नेताको भनाइ छ। कांग्रेसको पछिल्लो तयारीले संघीय संरचनाको नयाँ कार्यसमितिका रुपमा गठन हुने प्रदेश समिति नबन्ने भएको छ।
पूर्व निर्णयानुसार साउन १२ गतेदेखि तल्लो तहको अधिवेशन हुने कार्यतालिका थियो। उक्त कार्यतालिका प्रभावित हुने भएपछि तल्लो संरचनाको अधिवेशनको मिति पर सार्ने निर्णय पार्टीले गरेको छ। पर सार्ने निर्णय भएपनि कहिलेबाट अधिवेशन सुरु गर्ने बारे यकिन भएको छैन।
तल्लो तहको अधिवेशन एक साता पर सार्ने तयारी रहेको भनिएपनि भदौ अघि हुन नसक्ने एक नेताले बताए। वडा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन भदौ पहिलो साता गर्ने गरी तयारी भएको ती नेताले बताए।
तल्लो तहको अधिवेशन नै भदौमा पुगेपछि दुई तहको सकेर केन्द्रको गर्ने सोचमा नेताहरु पुगेका छन्। असार मसान्तसम्म क्रियाशील सदस्यता छानबिन सक्ने भनिएको क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो कार्य हालसम्म सकेको छैन।
दुई जिल्लाको विवाद केन्द्रमा पठाउने समितिले निर्णय गरेको छ। सतहमा दुई जिल्लाको विवाद मात्रै भनिएपनि दर्जन बढी जिल्लामा समस्या रहेको बताइएको छ।
छानबिन समितिले विवाद टुंग्याउन अन्तिम कसरत गरिरहेकै बेलामा जिल्लाबाट विवाद लिएर समितिको कार्यालयमा दर्जनौं नेता/कार्यकर्ता धाइरहेका छन्। केन्द्रीय महाधिवेशनको समय भदौ १६ देखि १९ सम्मलाई तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।