काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादवपक्षले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा आफ्नो पार्टीका तर्फबाट आठ जना मन्त्री मागेको छ। आठमध्ये सात जना मन्त्री र एक जना राज्यमन्त्री हुने छन्।
शनिबार बसेको संसदीय दलको अनौपचारिक बैठकमा यही मागसहित अगाडि बढ्ने समझदारी भएको जसपा नेता मोहम्मद इस्तियाक राईले नेपाल लाइभलाई बताए।
'सरकारमा तीन पार्टी (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा) मात्र सहभागी हुने अवस्थामा सात मन्त्री र एक राज्यमन्त्री हुनुपर्छ भन्ने हाम्रो माग हो,' उनले भने, 'तर, एमालेको माधवकुमार नेपालपक्ष पनि सरकारमा सहभागी हुने अवस्थामा भने यो संख्या कम हुनसक्छ।'
उनले मन्त्री छनोट गर्दा भूगोल (पूर्व, मध्य, पश्चिम तथा पहाड र तराई) लाई ध्यान दिनुपर्ने, जातीय प्रतिनिधित्व पनि सुनिश्चित गर्नुपर्ने कुरा भएको उनले जानकारी दिए।
जसपाको आधिकारिकतासम्बन्धी विवाद अहिले निर्वाचन आयोगमा विचाराधीन छ। जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरपक्षले पनि आफू आधिकारिक भएको दाबी गरेकाले निर्वाचन आयोगले यसको छिनोफानो गरेपछि मात्र सरकारमा सहभागी हुने उपेन्द्रपक्षको तयारी छ।
सरकारमा सहभागी हुन केही समय लाग्ने भए पनि आफूले पाउने मन्त्रालयहरुको टुंगो सकेसम्म चाँडै लगाउनुपर्नेबारे समेत शनिबारको बैठकमा छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।