काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।
बैठकमा नयाँ सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र आसन्न महाधिवेशनका सन्दर्भमा छलफल हुने बताइएको छ। कांग्रेसको तल्लो तहको अधिवेशनको मिति फेरि सार्ने तयारी गरिएको छ।
केन्द्रीय महाधिवेशन प्रभावित नहुने गरी तल्लो तहको अधिवेशनको मिति केही समय सार्न लागिएको हो। शीर्ष नेताहरुको बैठकले सम्भवत: नयाँ कार्यतालिकाबारे निर्णय गर्नेछ।
वडा, गाउँ/नगर, जिल्ला र प्रदेश निर्वाचनको मिति केही दिन पर धकेलिने क्रियाशील सदस्यता छानविन समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिए।
साउन १२ बाट वडा तहको अधिवेशन गरी तल्लो तहका अधिवेशन सुरु गर्ने कार्यतालिका यसअघि सार्वजनिक गरिएको थियो। तल्लो तहको अधिवेशनको मिति केही दिन पर सार्ने भनिए पनि कति दिन भन्नेबारे खुलाइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।