काठमाडाैं- बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई पार्टीको बैठकस्थल नबनाउन ध्यानाकर्षण गराएको छ।
आन्दोलनले प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेस पार्टीको बैठक बोलाएर राज्य कोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिएको भन्दै विरोध जनाएको हो।
'नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित प्रधानमन्त्रीनिवास सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेस पार्टी बैठक बोलाएर राज्यकोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिन खोजेका छन्। बालुवाटारलाई पार्टी बैठकस्थल मात्र होइन, पार्टी नेता-कार्यकर्ताको आश्रय/विश्राम/भेटघाट स्थलसमेत नबनाउन र जोखिमपूर्ण जीवनयापन गरिरहेका जनताबाट संकलित करको अपमान नगर्न बृहत् नागरिक आन्दोलन सरकारको अविलम्ब ध्यानाकर्षण गर्दछ,' नागरिक आन्दोलनले भनेको छ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज दिउँसो २ बजे बालुवाटारमा बोलाएका छन्। बैठकमा नयाँ सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र आसन्न महाधिवेशनका सन्दर्भमा छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।